चाडवाड नजिकिएसँगै कालोबजारी गर्नेहरु मौलाउँछन् । तपाईं हाम्रै लापरबाहीले वर्षैभरी ठगिनुपर्ने अवस्था आउन सक्छ । यदि कुनै सामान किन्दै हुनुहुन्छ र त्यसमा केही त्रुटि भेटिए सरोकारवालालाई  खबर गर्नु्स् ।
आम उपभोक्तालाई विभिन्न नामका व्यवसाय र व्यापारीले कसरी अखाद्य वस्तु प्रयोग गराइरहेका छन् र कसरी मूल्यमा ठगिरहेका छन् भन्ने पछिल्लो बजार अनुगमनले देखाउँछ ।

केही दिनअघि (असोज १५ मा) विशाल ग्रुपको अमेजन र आयान डिस्ट्रिब्युटर्सको गोदाममा छापा मार्दा ओरियो बिस्कुट, स्निकर्स र मार्स चक्लेट, ट्याङ जुस, बर्नभिटा लगायतका म्याद सकिएका सामग्रीमा नयाँ लेबल लगाएर बजारमा पठाउँदै गरेको फेला परेको थियो ।

त्यस्तै सोमबार अनुगमन टोली आउने थाहा पाएपछि कालिमाटी फलफूल तथा तरकारी बजारमा सञ्चालित माछा पसलका व्यापारी खरिदबिक्री बिल अनुगमन टोलीलाई देखाउन नसक्ने भएपछि पसलै छोडेर भागे । अनुगमनका क्रममा हेरिएका पसलमध्ये धेरैमा दर्ता, नवीकरण र खरिदबिक्री बिलमा समस्या देखिएको भनिएको छ ।

यी त पछिल्ला प्रतिनीधि घटना मात्र हुन् ।  चाडवाडका समयमा उपभोक्ता हतारमा हुने भएकाले उनीहरुले यस्ता विषयमा ध्यान नदिएको देखेपछि कालाबजारीहरु सलबलाउँने गरेको उपभोक्ताकर्मीहरु बताउँछन् ।
सरकारी अधिकारीहरूले बजार अनुगमनका क्रममा खाद्यवस्तुको गुणस्तर परीक्षण ठाउँको ठाउँमै गर्ने व्यवस्था गरिएको दाबी गरिरहेका बेला त्यस्तो कुरा प्रचारमा मात्र सीमित भएको आरोप छ।

जब दशैँ तिहारजस्ता ठुला चाडवाड आउँछन् तब बजार अनुगमनलाई सरकारले सक्रिय बनाउँछ र अखाद्य वस्तुको पहिचान हुन्छ । केही कालोबजारीहरु पक्राउ पनि पर्छन् भने केही त्यतिकै छाडिन्छन् । सरकारले सिजनल अनुगमन गर्ने  र अरुबेला सुस्ताउँने गरेको आरोप लाग्दै आएको छ । रातोपाटीबाट

SHARE