सिराहाको सीमावर्ती भगवानपुर गाउँपालिका– २ लहरा गाउँमा सडकछेउको रूखको छहारीमा बसेको सामान्य विवादमा कुटाकुट हुँदा नौजना गम्भीर घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि विराटनगर रिफर गरिएको छ ।

लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा शनिबार दउँसो सामान्य उपचार गरी रेफर गरिएकामध्ये विराटनगरस्थित विराट नर्सिंङ होममा तीनजना र ६ जनाको नोबेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

लहान प्रहरीका अनुसार विराट नर्सिङ होममा लरहा गाउँका कुन्देश्वर यादव, जोगिन्दर यादव र किशोर यादवको उपचार भइरहेको छ । घाइते सबैको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

त्यस्तै, नोबेल अस्पतालमा वर्ष देवचन्द्र यादव, बच्चालाल यादव, जसीलाल यादव, श्यामसुन्दर यादव, छविल यादव र सञ्जीवकुमार यादवको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बच्चालालको बायाँहात भाँचिएको र सञ्जीवको टाउकोमा गहिरो घाउ भएकाले शल्यक्रिया गर्नुपर्ने चिकित्सकले सुझाएको बिरामीको कुरुवा बसेका लरहाका लालबहादुर यादवले बताए ।

यस्तो थियो विवादको कारण
गर्मी र चर्को घाम लागेपछि शनिबार दिउँसो करिब साढे १२ बजेतिर लरहा गाउँको सडक किनारमा रहेको रूखको छहारीमा बस्ने विषयमा विवाद हुँदा कुटाकुट भएको स्थानीय सन्तोषकुमार यादवले बताए ।

प्रहरीका अनुसार रूखको छहारीमा बस्ने विषयको विवाद बढ्दै गएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र जनता समाजवादी पार्टी (जसपा) पक्षीय समूहबीच झडप भएको हो ।

दुवै पक्षका गरी दुई दर्जनजना घाइते भए पनि रेफर गरिएकाबाहेक अन्यलाई सामान्य चोटपटक लागेकाले उपचारपछि घर फर्किएको लहान अस्पतालले जनाएको छ ।

 

SHARE