– रञ्जना लामिछाने

विचरा! कोही यता मृत्युसँग लडिबुडी गर्दै बाँच्नका लागि चीत्कार गरिरहेछन् ,कोहीलाई उता चितामा लगिदै छ।चीत्कार गर्ने र चितामा पुग्नेको संख्या दिन दुईगुना र रात चौगुना हुँदै गर्दा हामी कहाँनेर चुक्यौँ? र यो भयावहको स्थितिलाई कसरी सामान्य बनाउन सकिएला ???भनेर विचार विमर्श गर्ला भन्दा सरकार भने कोरोनाकालागि अरबौँ अर्ब खर्च भएको फेहरिस्त देखाई वाह! वाह! सरकार भनेर ताली पिटिदिऊन भन्ने अपेक्षा गरेर बसिरहेछ।

 

कुनै समय नेपाली हुनुमा गर्व गर्दै चौडा हुने छाती र उँचो हुने शिर आजभोलि लाजले झुकेको छ कारण सरकारले बाँच्न पाउने अधिकार समेत खोसिदिएको छ। म बिरामी भएर छटपटाउदै गर्दा मलाई अस्पताल पुर्याउने कि नपुर्याउने भनेर सरकारको सिफारिस लिनुपर्ने रे??? यो कस्तो अचम्म??? बिरामीलाई अस्पताल पुर्याउन एक मिनेट मात्रै ढिलो हुँदा त मृत्युको उपहार पाइने देशमा सिफारिस कुर्दा के के हुने हो म शब्दमा व्यक्त गर्न सक्दिन। बरु सिधै मरे मर ! भनिदिएको भए नि चित्त बुझाउने बाटो हुन्थ्यो होला नि। अरे सरकार !पानी मुनिको ओभानो बनेर लौरी नभाची सर्प मार्ने तिम्रो चाला जनताले राम्रोसँग बुझिसकेका छन् ।

 

मानवीय आधारभूत आवश्यकताभित्र पर्ने स्वास्थ्यजस्तो संवेदनशील विषयमा पनि केटाकेटीले भाँडाकुँडी खेलेजस्तो गरेर बस्ने सरकारले ” एक घर एक पिसिआर परीक्षण ” गर्ने हैसियत राख्दैन भने जनताको नजरमा सरकारमा बसिरहने नैतिकता पनि नराख्नु पर्ने हो। हुन त जनताको सेवाका लागि कुर्सीमा बसेकालाई पो लाज र डर त पद, पैसा र प्रतिष्ठाका लागि कुर्सीमा बसेकाहरुले जे गरिरहेका छन् ठिकै गरिरहेका छन् ।

 

यो समयमा दलगत स्वार्थभन्दा माथि उठेर देश र जनताका नाममा सेवाभावमा लाग्नुपर्नेमा भागवन्डामै अल्झिएर बस्नु कति उचित हो??? यो सिङ्गो देश एक घर, यहाँका सबै जनता नेपालरुपी घरका सद्स्य अनि सरकार हामी सबैको अभिभावक भएपछि हामीले कठिन परिस्थितिमा अभिभावकको मुख नताके कसको ताक्ने त??के एउटा घरमा आफ्ना सन्तान बिरामी भएर मृत्युुसँग लड्दै गर्दा अभिभावकले म केही गर्न सक्दिन जे गर्न छ आफैले गर भनेर हात उठाउन मिल्छ ?????वा हारगुहार गरेर हुन्छ अथवा ऋणधन गरेर जसरी भएपनि औषधोपचारमा लाग्ने???सरकारको जनताप्रतिको अनुत्तरदायी व्यवहारले यो परिस्थितिले अझै कस्तो मोड लिने हो यसै भन्न सकिने अवस्था छैन।

 

भनिन्छ नि “रात रह्यो भने अग्राख पलाउँछ” अझै पनि केही ढिलो भएको छैन। यस समयमा पक्ष विपक्ष नभनी सबै राजनैतिक दलका नेतृत्व एक ढिक्का भएर हातमा हात र काँधमा काँध मिलाएर यो विषम परिस्थितिबाट नेपाल र नेपालीलाई जोगाउन लागि पर्ने हो भने भोलिबाटै यो भयावह स्थितिमा केही सहजताको महसुस जनताले गर्नेछन् , होइन भने सरकार पनि छ र ???भन्ने अवस्था नआउला भन्न सकिदैन। जनताहरु आशाको दियो बालेर बसिरहेका छन् अब यो दियोलाई निभाउने वा जगाउने सरकारकै हातमा छ।सरकारले आफ्नो भूमिका निर्वाह गर्न

नसक्दा मियोबिनाको दाँइजस्तै बनेको यो लथालिङ्ग अवस्थालाई बेलैमा काबुभित्र राख्न सकोस् सरकारलाई शुभकामना!

 

संक्रमणको अवस्थालाई नियन्त्रणमा लिनका लागि लकडाउन, निषेधाज्ञा , कर्फ्यु लगायतका विविध उपायको अवलम्बन गरिएको भएतापनि यसले चुलोमा आगो नबल्ने गम्भीर संकट निम्तिदै छ। त्यसैले अब यसको विकल्प खोज्नुको बाटो छैन र त्यो विकल्प भनेको पिसिआर परीक्षणको दायरा बढाउनु नै हो। यदि यसो गर्न सकिएन भने सगरमाथाको उचाइले विश्वभर पहिचान बनाएको

देशको परिचय नै फेरिएर लासको थुप्रोको उचाइले देशको पहिचान बन्ने स्थिति नआउला भन्न सकिदैन ! यस्तो परिस्थिति नआओस् हामी सबैले यही कामना गरौँ! भगवानले हामी सबैको रक्षा गरुन् !

                         गैँडाकोट -५,नवलपुर

 

 

SHARE