भातृसंस्था मृतप्रायः छ : नेता गुरुराज घिमिरे

55

काठमाडौं, १७ मंसिर । नेपाली कांग्रेसको संस्थापन इतर समूहबाट प्रदेश १ का सभापति उम्मेदवार गुरुराज घिमिरेले आफू कुशल र सबल नेतृत्वका लागि उपयुक्त पात्र भएको दाबी गरेका छन् ।

नेता घिमिरेले भने, “राज्यको पुनःसंरचना अनुसार पहिलो पटक पार्टीको प्रदेश समितिको अधिवेशन हुन लागेको छ ।

यसले संघ र स्थानीय तहबीच समन्वयको काम गर्छ । नेविसंघको अध्यक्ष र दुई कार्यकाल पार्टीको केन्द्रीय सदस्य रहिसकेकाले साथीहरुले कुशल र सबल नेतृत्व दिने विश्वास गरेर जिताउनुहुन्छ भन्ने लागेको छ ।”

अति गुटबन्दीका कारण पार्टीलाई एकढिक्का बनाएर अघि बढ्नु सबैभन्दा चुनौत भएको पनि नेता घिमिरेले बताए । उनले थपे, “प्रदेश १ मा धेरै चुनौती छन् । यहाँ विपक्षी दल एमाले बलियो छ । पार्टी अध्यक्ष यहीँका हुन् । तर कांग्रेसको संगठनलाई पार्टी नेतृत्वले समन्वय गर्न सकेको छैन ।

भातृसंस्था मृतप्रायः छ । पार्टीका अवयवलाई आधारभूत तहदेखि नै क्रियाशील बनाएर दण्ड र पुरस्कारको व्यवस्था गर्न म लागिपर्छु ।”
तपाईंले राष्ट्रिय राजनीति छाड्नुभएको हो भन्ने पत्रकार धमलाको प्रश्नमा घिमिरेले भने, “प्रदेश राजनीतिमा लागे पनि राष्ट्रिय राजनीतिमा मेरो सम्पर्क र सम्बन्ध छँदै छ ।

मैले आफ्नो स्थान सुरक्षित गर्ने भन्दा पनि पार्टीप्रति ग्रासरुटदेखि नै जनताको आशा, विश्वास र भरोसा बनाउन चाहन्छु । मुलुक र लोकतन्त्रको भविष्य सुरक्षित गराउन चाहन्छु ।”

नेपाली रेडियो नेटवर्क (एनआरएन)