राजेन्द्र राईले मुख्यमन्त्रीको सपथग्रहण गर्दै ।।

29

१६ कात्तिक, विराटनगर ।

पाँच दलीय गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र राई आज प्रदेश १ को तेस्रो मुख्यमन्त्री बन्दैछन् । एकीकृत समाजवादीको प्रदेश १ संसदीय दलका नेता राईले आजै दिउँसो सपथग्रहण गर्नेछन् ।

सोमबार एमाले नेता भीम आचार्यले मुख्यमन्त्री राजीनामा दिएलगतै प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले संविधानको धारा १६८ को २ बमोजिम सरकार गठनका लागि आह्वान गरेका थिए । सोमबार नै पाँच दलीय गठबन्धनका ४९ सांसदको हस्ताक्षरसहित राईले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । मंगलबार १ बजेसम्म दाबी पेस गर्ने समय भएका कारण त्यसपछि मात्रै सपथग्रहण गर्ने तयारी छ ।

मन्त्रालय फुटाउने तयारी

प्रदेश १ मा सातवटा मन्त्रालय छन् । पाँच दलीय गठबन्धनमा मन्त्रीको आकाक्षी धेरै भएपछि मन्त्रालय फुटाउने गृहकार्य पनि सुरु भएको छ । गठबन्धनका नेताहरु मन्त्रालय संख्या १० पुर्याउने तयारीमा छन् । आकाक्षी धेरै भएका कारण मन्त्रिपरिषद् संख्या बढीमा १४ पुर्‍याउने तयारी छ ।