लुम्बिनीका मुख्यमन्त्री केसीले मागे विश्वासको मत ।।

49

बुटवल, भदौ ७

प्रतिपक्षी दल नेकपा एमालेको बहिष्कारकाबीच लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत दिन प्रस्ताव पेस गरेका छन्। एकैदिनमा दुई पटक स्थगित हुँदै बसेको आजको तेस्रो पटकको बैठकमार्फत मुख्यमन्त्री केसीले विश्वासको मत मागेका हुन्।

गत साउन २८ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम चार दलको गठबन्धनको समर्थनमा केसी मुख्यमन्त्री बनेका थिए।
संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न केसीले साउन २८ गते नै प्रदेशसभा सचिवालयमा पत्रमार्फत् सूचना दिएका थिए।

संविधानको धारा १८८ को उपधारा १ र प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम ४ बमोजिम मुख्यमन्त्री केसीले विश्वासको मत दिन प्रस्ताव पेश गरेका हुन्।

एमाले संसदीय दलका उपनेता बैजनाथ चौधरीले मुख्यमन्त्रीले विश्वास लिने र प्रदेशसभामा सोमबार प्रस्तुत गरिएका कुनै पनि प्रक्रियामा आफूहरू सहभागी नहुने बताए।