कथा: ग्रीन कार्ड

288

कथा

लेखक : धुवमणि पौडेल

                       केहि दिनदेखि उसको छटपटिले म विचलित भैरहेको छु । ३ बर्षअघि चिनेको भएपनि वालसखा जस्तो लाग्ने उसका हरेक कथाहरु नियालेर सुनेको थिए । ८ बर्षअघि अमेरिका आएपछिका उसका आरोह अवरोहरु त नदि जस्तै छर्लङग बनाएको थियो सरोजले । राती सुत्नेबेलमा भएको छोटो कुराकानीमा उसले पोखेको छटपटिले मलाई दुखि तुल्याएको थियो । रातमा सरोजले नदिमा हाम फालेको र तर्ने कोशिष गरिरेको सपना देखे । नदी तर्न बल गर्दै गर्दै बग्दै बग्दै तलतिर गइरहेको सपनाको दृश्यले कतै सरोज नदीमा बगेरै समाप्त हुने त होइन भन्ने डर लाग्यो। नदिको वहाव झन झन वढिरहेको थियो । आफ्ना पातलो गोरा हात र खुट्टाले खिआउने प्रयास गर्दै सरोज नदि तर्ने कोशिष गर्दै थियो । नदिको एउटा किनारबाट म पनि ऊ बगेजसरी दौडिरहेको थिए । नदिका छेऊमा देखिएका बडेमानका ढुंगाहरुमा कतै ठोकिने त होईन म निकै छटपटिए । हेर्दा हेर्दै नदिको वहाब सँगै ऊ पनि देखिन छाड्यो ऊ हरायो। मलाई रिंगटा लागेजस्तो भयो नदि छेऊको ढुङगामा टाँउकोमा हात राखेर मन अमिलो बनाएर यसो टोलाउदै थिए । उसको स्मृति केलाउँदै थिए । यत्तिकैमा नदी पारिवाट हेलो धु्रव सर भन्ने आवाज सुने । सरोज त नदि पार गरेर पारिपट्टी पुगेछ । सेतो छाला, काला दारी र मिलेका सेता दाता अनि मनभरी खुशी वोकेको उसले नदि तरेकोमा गर्भले छाती फुलायो । उसलाई धकल्दै बगाएका नदीका छालहरुलाई मनमनै गिज्जाउँदै विजय प्राप्त गरेकोमा अ्टाहास हासोले खुशी साट्यो । सपनामा नै म निकै खुशी भए ।
…….
हेर त आज ८ बर्ष पुगेछ । उसले आफु अमेरिका आएको दिन गन्यो । यहि जाँडोको वेला थियो डिसेम्बर, हिँउमा काम्दै हिड्दा पनि कति न्यानो लागेको थियो उसलाई । मनमा खुशी र सुन्दर कल्पना वोकेर अमेरिका आँउदा उसले विगतलाई विर्सिएको थियो । अरब र कोरियन लाउरेले भरिएको अर्घाखाँचीको कालिफाँटा गाँउबाट अमेरिका आईपुग्ने ऊ नै पहिलो थियो । त्यसैले उसले साथीहरुका अगाडि गर्वले छाती फुलाउँदै भन्थ्यो मेरो गाँउवाट अमेरिका आउने त म मात्रै हो । घर, ससुराली, गाँउ र खानदान सबैभन्दा माथि पुगेको आभाष भएको थियो उसलाई । आज आठबर्षमा गाँउ फेरियो, उसका गाँउका दर्जनौ युवा कोरिया मात्र होईन अष्ट्रेलिया, अमेरिका, क्यानेडा पुगे । ८ वर्षमा उसको आर्थिक जीवन फेरियो तर त्यतिवेला मनमा वोकेर हिडेको सुन्दर सपना विस्तारै सेलाउँदै थियो । उसका ईच्छाहरु फेरिएका थिए । खुशीको परिभाषा बदलिएको थियो । मायाका बन्धन, प्रेमिल याद, गाँउका छहरा र पहराका स्मृतिहरुले वेचैनी बढाईरहेका थिए ।
…….
सरोज उठेर लामो सास तान्दै एक गिलास पानी खान्छ अनि फेरि पल्टन्छ यसो घडी हेर्छ रातको ३ बजीसकेछ । किन किन निद्रा नै परेको छैन् उसलाई। आफ्नो वाध्यता नबुझिदिएकोमा श्रीमतीसँग अलि अलि रिस उठेजस्तो भयो अनि प्रेमिल शब्द विना नै कुराकानी सिद्धायर ऊ विस्तारामा पल्टिदा त्यहि रातको १२ बजेको थियो । ३ घण्टादेखि सुत्ने प्रयास गर्दा पनि ऊ निदाउन सकिरहेको छैन । उसको कानमा श्रीमतीको तेहि आवाज गुन्जिरहेको छ “ मेरो माया भए त ८ बर्षसम्म किन छाडेर बस्नुहुन्थ्यो र मुखले मात्र ठिक्क हो पार्ने हो ”। सिरक भित्र बाट फेरि मोवाईल खोल्यो श्रीमती , छोरी र छोराका तस्वीर फेरि हेर्यो आँखा टिलपिल भए । मनमनै भन्यो मलाई माफ गर सरिता तिमी महान छौं तिम्रो कठोर तपस्याले त मलाई बचाईरहेको छ । घरि घरि अत्यास लागेर आउछ उसलाई, आफैले आफैलाई प्रश्न गर्छ, यौवनका वयहरु थामेर यतिन्जेल परदेशमा आफुलाई किन पोखिरहेको छु? आफ्ना र श्रीमतीका प्रेमिल भावना कतिन्जेल फोनमा र भिडियोकलमा साटिरहने ? आफ्नै कर्मप्रति रिस उठ्छ, आँफु सँगै आएका साथीहरु परिवारसहित देशपरदेश ओहोर दोहोर गरिरँदा ईश्र्या लागेर आउछ अनि धिक्कार्न मन लाग्छ आफ्नो भाग्यलाई । अमेरिका आँउदा वोकेका सपनाहरु के थिए विर्सिईसक्यो उसले ।गर्भमा छाडेर हिडेको छोराले साईकल टिरलिङ टिरलिङ पार्दै फोनमा मेरो वावा म सँग किन बस्न आउनुहुन्न भनेर भन्दा आँखाभरी टिलपिल आसुँ बनाउँदै छोरालाई काधमा राखेर दौडाउँदै हिडेको कल्पना गर्छ ऊ। श्रीमतीको आँखामा पोखिएको अत्यास, माया र वेचैनीले घरि घरि पोलिरहन्छ अनि लामो सास तान्दै कोल्टो फर्खन्छ ।

……………………
राती अवेर सुतेकाले होला विहानको अलरामलाई निद्रामा नै बन्द गरि फेरी सुत्यो । उठ्दा विहान १० बजिसकेको रहेछ, विस्तारा वाट नै फोन लगायो, हेर न ढिलो उठेछु दश वजीसकेछ,केटकेटीले क्यार्याछन त ? अ हुन्छ वेलुका कामवाट फर्किपछि फोन गर्छु है । श्रीमतीसँग ५ मिनेटको छोटो कुराकनी टुंगायर फ्रेस हुन गयो । अघिल्लो राती सँगै बस्ने मामाले बनाएर राखिदिएको खाँजा तताएर खायो अनि काममा लागि निश्कियो । मोटो कालो ज्याकेट, खैरो पाईन्ट र खैरो स्पोटर््स सुज लगायर मुखमा अलिकति सुर्ति च्याप्दै वाटोमा निश्कियो । टेक्सासमा नेपालीले सन्चालन गरेको चाईनिज रेन्टुरेन्टमा उसले काम गर्न थालेको पनि छ वर्ष वितिसकेको छ । अनुभबले सेफ बनाएपनि मनमा भिन्न काम गर्ने ईच्छा नजागेको हैन । कति वेला मन फुरुङग हुन्छ यहि कामले जीवनमा आर्थिक वहार ल्याएको छ कतिवेला लाग्छ पारिवारिक माया, ममता र प्रेमलाई जबरजस्ती विर्सिएर कतिन्जेल धनकालागि दौडिरहने ।

काममा पुग्न ४५ मिनेट लाग्छ ।रेन्टुरेन्ट साऊको कारको अगाडि सिटमा बसेर गाँउका, पाखाका, वालककालका गफ गर्न उसलाई औधी मनपर्छ । उसका कुराहरु सहकर्मीहरुले पनि चाख दिएर सुन्छन् । उसका पुराना यादहरु मात्र होईन उसको मौलीक खालको गफ गर्ने शैली पनि निकै रोचक छ । काममा जाने आउने यात्रा उसको विगत विर्साउने चौतारी जस्तो लाग्छ । पछिल्लो सिटमा बसेको साथीले सोध्छ “ ए सरोज हैन आज त अलि फ्रेस छैन त अनुहार, खै कुराकानी पनि केहि निश्किएका छैनन् त”। मन्द मुस्कान दिदै उसले ८ बर्ष अगाडि सिकागो आँउनुभन्दा अगाडिको याद यसरी पोख्यो ।
२०७१ सालमा अमेरिकाको भिषा लागेको पासपोर्ट वोकेर आफ्नो गाऊ अर्घाखाँची जाँदा उसलाई सन्सार जितेजस्तो लागेको थियो । कलंकीवाट रात्रीकालिन डिलक्स बसको विचको सिटमा बस्दै आफ्नो कोटको खल्तीवाट भिषा लागेको पासपोर्ट निकालेर हेर्छ मुसुक्क हास्छ अनि फेरी कोटमा हाल्छ । कल्पना गर्छ अब अमेरिकाबाट फर्कदा त यो बसमा कहाँ चढ्छु र म आफ्नो कारमा श्रीमती र छोरीलाई चट्ट राखेर गाँउ जान्छु । गाँउमा मलाई हेर्न, हेलो गर्न ओहो.. भन्न घरको आगनमा भिडभाड हुन्छ । धन, सुख र आनन्दले भरिएको आफ्नो सुन्दर भविश्य सम्झिदै भित्रभित्र गदगद भैरहेको थियो ऊ । “ए भाई यो मेरो सिट हो उता सर्नु त” एक जना महिलाले कानमै आएर वोलेपछि कल्पनामा सयर गरिरहेको ऊ झस्किन्छ अनि कुनापट्टीको सिटमा सर्छ । कपाल रातो बनाएकी, रातो कोट र हातमा लेदरको पर्स वोकेकी ति अर्धवैंशे महिला खानदानाया खालकी देखिन्थिन् । उसले उनीमाथि छड्केरुपमा आखाँ दौडायो । आफुलाई नियालेर हेरेजस्तो लागेपछि ति महिलाले लजालु पारामा छड्को हासो हास्दै भनिन ”भाई कहाँ पुग्ने हो” ? उसले एकै सासमा उत्तर दियो “ यसो अमेरिकाको भिषा लिन काठमाण्डौं आएको थिए एक महिनापछि अमेरिका फ्लाईट छ घर पुगेर भेटघाट गरेर आउनुपर्यो भन्ने लागेर अर्घाखाँची जान लागेको”। अमेरिका जान लागेको तन्नेरी देखेपछि ति दिदीको हेर्ने दृष्टिकोण पनि फेरियो । उनी नजिक हुन खोजिन अनि आफ्नो भाई र भिनाजु पनि अमेरिका भएको बताईन् । एकछिन नेपालको राजनैतिक अस्थिरतताका विषयमा गफ भए । रात्रीबस नारायणगढ कट्दा तेहि रातको १ बज्न लागेको थियो । निद्रा लागेन भाई उनले भनिन् । “हेर्नु न मलाई गाडिमा निद्रा नै लाग्दैन उसले भन्यो ।” उसले ननिदाउने विश्वास दिलाउन खोज्यो । उनले कुराको मेसो फेर्दै भनिन “ अनि वावु हजुरको विहे भएको छ कि छैन ? विदेश जाँदा त विहे गरेर जानुपर्छ नि ”? उसले यसो उनको अनुहारमा हेर्यो, मनमनै सोच्यो आज गाडिमा भेट भएको त हो । अर्को महिना म अमेरिका गईहाल्छु किन साँचो वोल्नुपर्यो। “छैन दिदी विहे गरेको छैन, घरवाट त निकै नै करकाप छ तर अहिलेसम्म भनेजस्तो भएको छैन” । अमेरिकन लाउरेसँग सम्बन्ध गास्न मन लाग्यो उनलाई अनि मुख फोरेर नै भनिन् “ हेर्नुस वावु मेरो भतिजी छ, असाध्यै राम्री शिलस्वभाव पनि सार्है राम्रो छ भर्खर विविए सकाएकी छ, विदेश जाने केटा नै उसको रोजाईमा छ, मोवाईलबाट भतिजीको फोटो देखाउँदै भनी केटी यही हो ।” ऊ के भनौ के भनौं भयो । फोटोमा अलि गहिरियर हेर्यो अनि मनमनै भन्यो थुक्क विहे नगरेको भए त यति राम्री केटिसँग विहे हुने रहेछ । अर्को मनले आफैले आफैलाई गाली गर्यो घरमा भएकी श्रीमती र छोरी सम्झियो । अनि अनकनाउँदै उत्तर दियो “ अँ दिदी कुरो त ठिकै हो तर एक महिनापनि वाँकी छैन उढ्नलाई । अर्को बर्ष अमेरिकावाट आएर विहे गर्ने सोचेको छु । ” केहि वेर गन्थनमन्थन गरेपछि दिदी निदाईन । ऊ पनि झुल्न थाल्यो । विहान ४ बजे सन्दीखर्क गएर गाडि रोकियो । यसो व्युजियर हेर्दा ति दिदी त अघि नै झरिसकिछन् ।

सन २०१३ को नोभेम्बर महिना सकिन १ हप्ता मात्र वाँकी थियो । १३ दिनपछि त सरोज सपनाको देश उढ्ने दिन। काठमाण्डौं जानुभन्दा १ हप्ता अगाडि नै ससुराली, मामाघर, सानीमा र ठुलोवा सवैको घरमा भेटघाट सक्यो उसले । मन अमेरिका पुगिसको थियो मात्र ज्यान गाँउमा थियो । काठमाण्डौं जाने अघिल्लो दिन घरमा पल्ला घरे ठुलावा, माईला दाई, सगै पढेका साथी जम्मा भएका थिए । त्यहि जमघटको बेल एक दशक अघि नै भारतमा पुगेर व्यवशायी बनेका दाजुको फोन आयो । फोनमा दाईले भने ल केटो राम्रो गरिस । त्यति वेला यहि बस दाजुभाई मिलेर यहि व्यवशाय गरौं भन्दा मानिनस दुवई जान्छु भनेर हिडिस , त्यतिवेला निकै रिस उठेको थियो तर अहिले त ठिकै गरेछस् जस्तो लाग्यो अहिले राम्रोसँग गएस । पुगेपछि खबर गरेस।” “ आठ कक्षा पढ्दा पढ्दै भागेर बम्बै गएको थियो फर्काएर ल्याए, अमेरिका पुग्न लेखेको रहेछ खप्पर त दरै रहेछ बा ले पिढिवाट खुशी साट्नु भो ।” “गएर उतै बस्ने हैन टन्न पैसो कमाएर आउनुपर्छ आमाले ऐनामा अगुल्टो झोस्दै भन्नुभयो ।” माथिल्ला घरे ठुलावाले एकोहोरो उसको अनुहारमा हेरिरहेका थिए । अलिकति ईश्र्याको भाव राख्दै उनले आफ्नो लोभ तेर्साए “ साला हाम्रो केटो नारन काम नलाग्ने भयो एसो त अम्रिका गएसी यलाई पनि त्यतै वोलाउने मेसो मिलाएस ”। साझ परेको थियो पिढिमा गुन्द्रिमा लहरै बसेका सवैले केहि न केहि भने, कसैले आशिष दिए कसैले सुझाब। उसले सवैका कुरा सुनेजस्तो गर्यो र अर्को कानले उढायो । छाती चौडा बनाएर दम्भसहित वोल्यो हेरौं अम्रिका पुगेसी कस्तो हुन्छ, विश्वको सवैभन्दा शक्तिशाली र सम्पन्न देशमा पुगेपछि कसो न होला र ? गर्न सकेको तपाईरु सवैलाई गरिहाल्छु नि । अलि पछि २–४ जना मान्छे लान कसो नसकिएला र ?” भोलीपल्ट विहान निधार रातो टिकाले लिपेर गेज वोकेर ऊ घरवाट निश्कियो । वा, आमा तल बसस्टप सम्म पुग्नुभो । मनमा हर्ष र विश्मातको भाव वोकेर उसलाई गाडि चढाएर फर्किनु भो । दुई चार दिन श्रीमान श्रीमती मिलेर गज्जबले काठमाण्डौं घुमे । उड्ने दिनमा त्रिभुवन विमानस्थलमा आँखा पिलपिल गर्दै श्रीमतीले भनिन “यताको चिन्ता लिनु पर्दैन म सम्हाल्छु राम्रो सँग जानु पुग्दा वित्तिकै खबर गर्नु।” कालोचस्मा निधारमाथि टाउकातिर धकल्दै उसले भन्यो हुन्छ छोरीको र आफ्नो ख्याल राख्नु । ऊ सँगै अमेरिका जाने दुई जना साथी पनि विमानस्थलमा थिए ।

नेपाल छाडेको दोश्रो दिनमा अमेरिकाको सिकागो आईपुग्यो ऊ । डिसेम्बर महिना चारैतिर सेताम्मे थियो । ठुला फराकिला सडक पनि हिऊले भरिएका थिए । दुबईको उच्च तामक्रममा वसेको उसलाई सेतो हिउँ, माईनस ३० सम्मको जाँडोले पनि गज्जब मजा लागिरहेको थियो । सिकागोमा रहेका दाजु दामोदरले ऊ र उसँगै आएका अन्य २ जना साथीलाई बस्ने व्यवस्था गरिदिएका रहेछन् । नयाँ ठाँउ, नयाँ जोश, नयाँ साथी अनि नयाँ सपनाहरुले माईनस ३० लाई विर्साईदिएका थिए । अमेरिका आईपुगेको तेश्रो दिनमा नै साथी रोशनले डान्स बार लगे जहाँ उसले अचम्मका दृष्य मात्र देखेन गज्जब रमाईलो गर्यो । राती १२ बजेतिर घर नजिकै चोकमा छाडेर साथी रोशन आफ्नो घरतर्फ गयो । ऊ बस्ने घरतर्फ जान खोज्दै थियो एक जना कालाजातको युवाले रोक्यो “ओ म्यान डु यु ह्याभ स्मोक ?” सवै भाषा स्पष्ट नबुझेपनि चुरोट मागेको कुरा उसले बुझ्यो । “नो भन्यो।” कालेले त्यसै छाडेन वाटो छेक्दै भन्यो “गिभ मि टेन डलर ।” उसले फेरि भन्यो नो आई डण्ट ह्याभ । कालेले एक धक्का मार्यो अनि “फक यू ” भन्दै अगाडि बढ्यो । सरोज थर थर काम्दै कोठामा पुग्यो । कोठामा साथीहरुले कालाजातीको व्यवहारका विषयमा भनेको कुराले उसको झन सातो उढ्यो । त्यहि घटनापछि आजसम्म रातको समयमा एक्लै हिड्न डर लागेर आउछ उसलाई ।
६ महिना सकागोको चिसो खाएपछि उसले टेक्सास जाने निर्णय गर्यो । घरमा वावा आमाले पैसा कमाएर फर्कनुपर्छ है भनेको विर्सियो उसले अनि साथीभाईले भनेजस्तै अमेरिकामा सेटल हुने लोभले उसलाई टेक्सास तान्यो । सिकागो भन्दा अलि न्यानो र कागजपत्र बनाउन सजिलो हुने भएकाले एक वर्ष नवित्दै सिकागोको बसाई अन्त्य गरि ऊ टेक्सास बस्न थाल्यो ।केहि दिन वेयरहाउसमा काम गरेपनि भारत, दुवई देखि सिकागोसम्मको अनुभकै आधारमा रेन्टुरेन्टमा काम गर्न गर्ने निधो गर्यो उसले । सुन्दर सपना, मनमा आशा र गोजीमा दाम सबै मिलेपछि मन प्रफुल्लित थियो उसको। तर उसका शुशीका लहराहरु धेरै समय टिकिरहन सकेनन् । केहि महिनामा नै कागजपत्र बनाउन उसले गरेका केहि प्रयासहरु असफल भए, सुन्दर सपनाका आशाहरु डगमगाए । पहिलो प्रयास असफल भए पनि दोश्रो, तेश्रो प्रयास गर्न वाँकी राखेन उसले । अमेरिकाले उसलाई तानिसकेछ । उसको रौ रौं मा अमेरिका दीर्घकालसम्म बस्ने हुटीहुटीको नशा बसिसकेको थियो । तर समय कहाँ सोचेअनुसार चल्दो रहेछ र ? हातमा ग्रिन कार्ड वोक्ने साथीभाईको रवाफले उसलाई गिज्जाउन थाल्यो । परिवार, घर, गाडिको सान र मान वोकेर हिड्ने दौतरीसँग ऊ विस्तारै टाँडिदै जान थाल्यो । सकसपुर्ण कानुनी लडाईले उसको मनभित्रको वेचैनी झन झन चुलिदै जान थाल्यो । यस्तै बेचैनीमा नै उसका केहि वर्ष विते ।
……………………………
“ए सरोज त्यो काम हिजो किन नगरेको ? तिमीले मिलाएर गर्न नै जान्दैनौं के ? यति लामो समय भैसक्यो काम गर्न थालेको तर पनि मैले नभनि हुदैन तिमिलाई ।” सधै सुनिरहने रेन्टुरेन्ट साऊको त्यहि भनाई पनि आज उसलाई निकै विजाउन थाल्यो । मन न हो के के सोच्छ के के कामलाई होईन आफ्नो खराब समयमाथि टेकेर प्रहार भए जस्तो लाग्न थाल्यो उसलाई । अमेरिकाको स्थायी कागज हातमा भएको भए यस्तो भन्दैनथे जस्तो लाग्छ उसलाई । सम्मानजनक काम र आकर्षक दाम भएपनि उसलाई किन हेपिएको महसुस हुन्छ । अस्थिर मन र लडखडाएको परिस्थितिले उसको काममा पनि अस्थिरता ल्यायो । उसले काम गर्ने ठाँउ फेर्यो । वाहिर सम्बन्धहरु साघुरो बनाउँदै लैजान थाल्यो तर पनि कागजी झमेलाको पिरलो भने काधमा वोकेर हिडिरह्यो । साच्चीकै भन्ने हो भने धन कमाउने आशामा नै अमेरिका आएको थियो । अपेक्षा भन्दा माथि धन कमाईपनि सकेको थियो तर उसको चाहनाको पहाड थपिदै गयो । उदेश्य फेरिदै गयो । ग्रिन कार्ड नै जीवनको अन्तिम लक्ष्य सम्झन थाल्यो उसले । यसरी अमिलो मन लिएर नै उसका केहि वर्ष वितिसके ।
…………
हैन फोनपनि उठाउनुहुन्न पाँचपटक गरिसके मैले फोन उठाँउदा वित्तिकै श्रीमती झर्किईन । दिनभरको व्यस्त १० घण्टे कामले लखतरान परेर घर फर्किएको ऊ भुसुक्कै निदाएछ । श्रीमतीका ४ वटा फोन कल मिस गरेको उसलाई पत्तै भएन् । दिनभर रेस्टुरेन्टको आगोको राप र कामको तापले कहिले काही थकित बनाउछ उसलाई । आँखा मिच्दै विस्तारै भन्यो “बुढि कामले थाकेर म त भुसुक्कै निदाएछु । यहाँ कति गाह्रो छ के थाहा तिमिलाई ।” घरमा सासु, ससुरासँग ठासठुस परेछ क्यारे श्रीमतीले अलि उत्तेजित हुँदै भनिन् “कसले भनेको छ तेति दुख गर्नलाई खुरुक्क घर आए त भैहाल्यो । मैले पाल्छु आउनुस नेपाल ।” श्रीमतीको मुड अलि अस्थिर देखेपछि उसलाई आफुलाई सम्हाल्दै भन्यो म पनि रहरले यहाँ वसेको कहाँ हो र? आज छोरा छोरी वोर्डिङ पढेका छन् । कच्ची झुपडीवाट पक्की घर बनेको छ । वैंकमा प्रशस्त व्यालेन्स छ, तिमीलाई मनलाग्दा राम्रो खान र लाउन पुगेको छ । मैले नगरेको भए यो सब कहाँवाट आउथ्यो त ? भोलीलाई अलि सुख होला भनेर त म जोतिएको छु ।” उसको कुराले श्रीमती अलि शान्त भईन । मनमनै सोचिन बुढाको कमाईमा आँखा गाड्न थालेपछि टट्याङमट्याङ भएर सासु ससुरासँग छुट्टियर बसेको पनि २ बर्ष वित्न थालेछ । वुढाको कमाईले त आज एक्लै बसेर पनि ढुक्क हुन पाएकी छु । अनि भावुक हुँदै भनिन् “हजुरको आजसम्मको दुखलाई मैले जतनसँग सम्मालेर राखेकी छु । कतै केहि हिनामिना हुन दिएकी छैन ।आखिर करौंडौ कमाएपनि साथ हुन पाईएन भने यो धनको मात्र के अर्थ । दुखसुख जे गरेपनि सँगै गरौला । कागज कागज भन्दै सधै उतै कति वस्ने । केहि गर्नसक्छु भन्ने ममा पनि आत्मविश्वास छ । मात्र अब हजुरको साथ चाहिएको छ ।” श्रीमतीको भावनाले उसलाई गम्भिर बनायो । उनले थपिन “तल्ला घरे साईलादाईले वालवच्चाकालागि भनेर २० बर्ष चेन्नाईमा चौकीदारी गरे । रिटायर्ड भएर नेपाल फर्कन झोला पोको पारेको रात नै हर्टएट्याक भएर विते । आखिर उनको जीवन चौकीदारीमा वित्यो । २० बर्ष कमाएको धनको सुख एक दिन पनि चाख्न पाएनन् । मानिसको जीवन के छ र ? ” श्रीमतीको स्नेह भरिएको भनाईले उसका आँखा रसाए । के उत्तर दिने सोच्न सकेन । सान्त्वना दिने शैलीमा भन्यो “सात जुनी सँगै विताउने कसम खाएर घर भित्राएकी जीवनसाथी हौं तिमी । तिम्रो धैर्यता र आत्मविश्वासले त मैले संघर्ष गर्न सकेको छु । अब हाम्रा दिनहरु सुनौला बन्दै गएका छन । यतिका वर्ष त धैर्य गर्यौं हामीले अब एक बर्ष हेरौं सके अमेरिकामा नभए पनि नेपालमा सँगै बस्ने हो ।” फोन राखेपछि पनि उसले श्रीमतीको अनुहार सम्झियो । गोलो अनुहार मनकी उज्याली छ सरिता । फेरि अरु वाहिर गएका लाहुरेका श्रीमतीहरुजस्तो उत्ताउली पनि त छैन । कसैसँग छिल्लिएर हिँडेको, हाँसेको वा स्वच्छन्द व्यवहार गरेको थाहा छैन उसलाई । सधैं जिम्मेवार श्रीमतीको आकृतिले उसले आफैलाई भाग्यमानी सम्झियो ।
……
विहान विहानै फोन आयो हेलो सरोज “आएम सरि आई ट्राईड माई वेस्ट बट कुडनट गेट सक्सेस । द ईमेल ह्वईच आई गट एस्टडे वाज डिसएपोन्टेड मि । योर चान्सेस ईज गेटिङ लो ।” फोनमा वोलेको वकिलको आवाजले उसले अघिल्लो राती श्रीमतीलाई दिएको सान्त्वना भताभुङग पार्यो । केहि आफ्ना नजिकका साथीभाईसँग वकिलले दिएको खबर विनिमय गर्यो उसले । ब्राजिलमा रहेका मामाको फोन आयो, उसले आफ्नो संघर्षको पछिल्लो अपडेट गर्यो अनि नेपाल जाने आशय व्यक्त गर्यो । केहि दिनमा म त्यहाँ अमेरिका आउछु अनि सल्लाह गरौंला अहिले न आत्तिनुहोस भान्जा भन्ने मामाको जवाफ आयो ।
मामासँगको एकहप्ता अमेरिका बसाईले उसलाई धेरै हल्का महसुस गरायौं ।केहि वर्षदेखिको एक्लोपन मात्र मेटियन टेक्सासका केहि रमणिय क्षेत्र घुमघाम गर्ने अवसर मिल्यो उसलाई । केहि महिना नेपाल गएर अमेरिका फर्कने अनि आफु पनि अमेरिका नै बस्ने योजनामा रहेको मामाको कुराले उसलाई धेरै राहत महसुस भयो । वुवा, आमा, श्रीमती, छोराछोरी, गाँउघरतिर आफ्नो खबर जस्ताको तस्तै पुग्ने अनि मामा आएपछि सँगै बस्ने कुराले उसको मनलाई हलुङगो बनायो । एक हप्तापछि मामालाई नेपालकालागि विदा गर्यो ।
छ महिनापछि मामा नेपालबाट अमेरिका आए । मामाभान्जाको बसाई सहज हुन थाल्यो । मामासँग बस्न थालेपछि उसको मनस्थिति दरिलो बन्न थालेको थियो । लामो समयको एक्लोपन विस्तारै कम हुदै गईरहेको थियो । गाँउघर, पाखा, पखेरा, परिवारका कुरा सुन्दा भर्खर उडेर नेपाल जाँउ जस्तो भएपनि मामाको साथले मन सम्हालिन थालेको थियो उसको।
आज त्यहि सरोज केहि महिनापछि मेरो कलेज अगाडिको चिया पसलमा भेटियो ।मैले मिहिनरुपमा उसको हालखर सोधे । उसको कुराले मलाई पनि हलुङगो गरायो । उसको ८ बर्षे संघर्ष विस्तारै सहज अवतरण हुने अवस्थामा पुग्न लागेको कुराले खुशी भए । पहिलेभन्दा अलि मोटायछ ऊ । उसको अनुहारको तेज पनि अलि बढेछ क्या रे ? छोटोमिठो कुराकानी सकेर उसले कारको ढोका खोलेर हात हल्लाउदैं विदा भयो । मनमा पिर भएपनि लुकाउन सक्ने, रिस उठेपनि दबाबउन सक्ने खुवी छ उसमा । ग्रिनकार्डले उसको संघर्षको एक अध्याय त सकियला तर दुख टार्ने भने छैन् । तथास्तु ।