गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको संचालन व्यवस्थापनमा विदेशी साझेदार भित्र्याइने

299

सगुन पोष्ट भैरहवा । निर्माणको अन्तिम चरणमा रहेको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको संचालन व्यवस्थापनमा विदेशी साझेदार भित्र्याइने भएको छ । उक्त प्रयोजनका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणले कागजी प्रक्रिया थालेको छ ।
प्राधिकरणका महानिर्देशक राजन पोखरेलका अनुसार विमानस्थलमा लगानी गरिरहेको एसियाली विकास बैंकको सहयोगमा विदेशी साझेदार भित्राउने प्रक्रिया सुरु भएको छ । अत्याधुनिक विमानस्थलको निर्माण भएका कारण संचालनमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कम्पनीलाई आहृवान गरी सञ्चालन(व्यवस्थापनमा साझेदारी गर्ने तयारी गरिएको उनले जानकारी दिए ।
यसमा खासगरी नेपाल सरकारबाटै सञ्चालन हुनुपर्ने क्षेत्र र संवेदनशील क्षेत्रको जिम्मा प्राधिकरण आफैले लिनेछ । त्यसबाहेक बजारिकरण र व्यवस्थापनको जिम्मा विदेशमा एयरर्पोट संचालन गरिरहेका ख्यातिप्राप्त कम्पनीसँग साझेदारी गर्ने तयारी छ ।
भौतिक संरचना निर्माणको अन्तिम चरणमा रहेको गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलका लागि मात्र ३५ अर्ब रुपैयाँभन्दा बढी खर्च भइसकेको छ । यसमध्ये ६ अर्बभन्दा माथि संरचना र अन्य रकम मुआब्जामा खर्च भएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको संचालनका लागि आफ्नोतर्फबाट १ सय ५१ जना कर्मचारी रहने गरी दरबन्दी तय गरेको छ । यसमध्ये ३६ जनाको दरवन्दी अहिले आन्तरिक विमानस्थल सञ्चालनकै दौरान रहेको छ ।
त्यो जनशक्तिमा थप गरी दरवन्दी तय भएको छ । महानिर्देशक पोखरेलका अनुसार तय भएको दरवन्दीमा परिपूर्तिसमेत अहिले प्राधिकरणको आन्तरिक स्रोतबाटै गर्ने तयारी छ ।

यसैबीच जर्मनको म्यूनिख एयरर्पोटबाट संचालित एकेडेमीले गौतमबुद्ध विमानस्थलको संचालनका लागि १५ जना कर्मचारीलाई सञ्चालन(व्यवस्थापनसम्बन्धी तालिम दिने भएको छ । सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको नेपालस्थित जर्मन दूतावासले जानकारी दिएको छ ।

प्राधिकरणका महाप्रवन्धक पोखरेलका अनुसार यस्तो तालीम कार्यक्रम आगामी मे महिनामा संचालन हुने तयारी छ । यद्यपी यसको तालिका भने आइसकेको छैन । दूतावासले यो कार्यक्रमबाट गौतमबुद्ध विमानस्थलको सफल सञ्चालन, यसबाट नेपालको पर्यटन वृद्धिमा भूमिका खेल्ने अपेक्षा गरेको छ ।