काठमाडौं/साउन ५ ।  प्रदेश पाँचका मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका नेता शंकर पोखरेलले मंसिरमा एकता महाधिवेशन राख्ने पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पार्टीका वरिष्ठ नेताहरूको असहमतिमाथि प्रश्न गरेका छन्।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष पुष्प कमल दाहालसमक्ष मंसिरमा पार्टीको एकता महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए।

आफ्नो फेसबुकमा पोस्ट गर्दै पोखरेलले पार्टी एकता गर्दा २ वर्षमै एकता महाधिवेशन गर्छौं भन्ने नेताहरूले ३ वर्ष भित्र महाधिवेशन गर्ने कुराबाट पन्छिन खोजेको बताउँदै सो कार्य उचित हो र भन्दै प्रश्न उठाएका हुन्।

‘पार्टी एकता गर्दा २ वर्षमै एकता महाधिवेशन गर्छौ भन्ने नेताहरू ३ वर्ष भित्रै महाधिवेशन गरौं भन्दा सकिदैंन भनेर पन्छिन खोज्नु उचित हो र?’, फेसबुक पोस्टमा पोखरेलले लेखेका छन्।

आइतबार दुई अध्यक्षबीच साँझ झन्डै साढे दुई घन्टा कुराकानी भएको थियो। ओलीसँग कुरा गर्न प्रचण्ड सवा ४ बजेतिर बालुवाटार पुगेका थिए भने पौने ७ बजे बाहिरिएका थिए।

दुई अध्यक्षबीच के कुराकानी भयो भन्ने विस्तृत विवरण आइसकेको छैन।

यसअघि शनिबार प्रचण्डले ओलीसँग विवाद मिलाउन सहमति गरेको भन्ने चर्चा भएको थियो।

ओलीविरूद्ध प्रचण्डसँगै रहेका वरिष्ठ नेता माधवकुमार नेपालले दुई अध्यक्षले चोचोमोचो गरे आफूलाई मान्य नहुने बताएका थिए।

आइतबार बिहान प्रचण्डले आफू र नेपाल पक्षीय नेताहरूलाई निवास खुमलटारमा बोलाएर ओलीसँग कुनै सहमति नगरेको बताएका थिए।

सचिवालय बैठकपछि परिबन्दमा परेर राष्ट्रपति भवन शितल निवास जानु परेको प्रचण्डको गुनासो थियो।

शनिबार सचिवालय बैठक सकिएलगत्तै प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओली, अर्का अध्यक्ष प्रचण्ड राष्ट्रपति निवास पुगेका थिए।

उनीहरूसँगै महासचिव विष्णु पौडेल, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, स्थायी समिति सदस्य जनार्दन शर्मा पनि सहभागी थिए।

SHARE