बुधवार, असार ३, २०७७

कावासोती : नेपाली काँग्रेसका महामन्त्री डा.शशांक कोईरालाले नेपाल प्रेस युनियन नवलपुरमा आबद्ध सबै पत्रकारहरुको कोरोना विमा गरिदिने भएका छन् । महामन्त्री कोइरालाले बुधबार कावासोतीमा आयोजित एक कार्यक्रममा प्रेस युनियन आबद्ध सबै पत्रकारहरुको कोरोना विमा गर्न सहयोग गर्ने घोषणा गर्नुभएको प्रेस युनियनका जिल्ला अध्यक्ष वीरेन्द्र पराजुलीले बताए ।

कोरोना महामारीका बेलामा फिल्डमा खटेर काम गर्ने जिल्लामा रहेका युनियन आबद्ध सबै पत्रकारहरुको विमा गर्नका लागि युनियनले गरेको आग्रहलाइ कोईरालाले सहर्ष स्विकार गर्नुभएको पराजुलीले बताए । “सबै साथीहरुको विमा गर्न आबश्यक थियो , आज महामन्त्री ज्युले हाम्रो आग्रह स्विकार गर्नुभएको छ , हामीले विमा गर्ने प्रक्रिया अघि बढाएका छौं ।” पराजुलीले भने । वीमा गर्नका लागि आबश्यक नाम संकलन गर्ने र अन्य प्रक्रिया सुरु गरिसकिएको युनियनका सचिव आशिष रेग्मीले बताए । क्रियाशिल र फिल्डमा खट्ने पत्रकारहरुको विमा गरिने रेग्मीले बताए ।

कावासोतीमा आयोजित कार्यक्रममा महामन्त्री डा कोईरालाले नेपाली काँग्रेसको महाधिवेशन तोकिएकै समयमा हुने बताए । उनले भने,“ अहिले महामारीका बेला छ , यो बेलामा हामी सबे सचेत हौं , महाधिवेशन तोकिएकै समयमा हुन्छ । त्यही अनुसार लाग्नु होला । ” कोइरालाले भने । सो अबसरमा नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी सावद , गुरुराज घिमिरे लगायतले बोलेका थिए ।

स्रोत: सत्यकलम

SHARE