हिजो जस्तो लाग्छ , दिल दुखाएको के भन्नु
अस्ति जस्तो लाग्छ नजर झुकाएको के भन्नु ।

जोड,गुणान हुन पर्ने ,अचेल त भाग र घटाउ
खै किन मौलाएको आशा लुकाएको के भन्नु ।

सम्झनाका कन्दराहरूमा झस्काउदैनन कि खै
उपलब्धी मै सजिएका मन सुकाएको के भन्नु ।

सबैमा आशा र भरोसा एक पछि अर्को हुन्छन्
बलियो बनाएको सुर्के गाठो फुकाएको के भन्नु ।

उपलब्धी दुई गुणा , चौ गुणा बनाउन पर्ने थियो
तर अचेल किन अधर मै मूल्य चुकाएको के भन्नु ।

असमानताको बीउ रोप्ने, खेदाउन बाँकी छ ।
यहाँ एउटा नयाँ इतिहास देखाउन बाँकी छ ।।

सिमानामा आतंक मच्याउन उद्द्त भरौटेहरू ।
प्रमाण सहित अदालतमा पेशाउन बाँकी छ ।।

हरेक समाजमा चेतना रुपी दियालो बालेर ।
कुरीति,कुसंस्कारको जड मेटाउन बाँकी छ ।।

किसानहरू नै चराचर सन्सारका पालक हुन् । 
आत्म निर्भरताको पाइला टेकाउन बाँकी छ ।।

कैयौं अन्याय र शोषणको कालो बादल हटाई । 
सुन्दर र बलियो देश भनी लेखाउन बाँकी छ ।।

बल्झिइ रहने कस्तो यो देशको घाउ
निको बनाउने छैनन् यहाँ कोही माउ ।

जब हुन्छ दृष्टिगोचर एकैतिर ,तिर सरी
उद्देश्य छल गरि, पुग्छ कसरी सघाउ ?

सदियौ उहीँ छ चाल , साथी छन उनै
सङ्कट मोचन छैन ,फेरि उहीँ छ दाउ ।

ब्रह्मलुट गरि डकार्छन ,मुसार्छन जुङ्गा
गुणगान गरिकन , ढोग्छन उनैका पाउ ।

आत्मनिर्भर हुने र बनाउने छैन है चाल
कुटनीतिले मै लाउ,रमाउ ,अनि मै खाउ ।

हे युवा तिमी मै छ आशा,तिमीमै भरोसा ;
उठ जाग हे कमर कसी यो देश बचाऊ ।

SHARE