जेठ १७ गते शनिबार सरकारले जेठ ३२ सम्मकालागि लकडाउन थप गरेपछि सामाजिक सन्जालमा यसको समर्थन र विरोधमा धेरै स्टाटस आए । जसको प्रतिक्रिया दिदैं एक जना सरकारी अधिकारीले भने “लकडाउन गरेपनि सुख छैन नगरेपनि सुख छैन ” जे मा पनि विरोध । हो उनको कुरा जायज हो तर लकडाउनले नै कोरोनालाई लक गर्छु भन्ने सरकारले सोचेको हो भने त्यो मुर्खता वाहेक केहि होईन । थपेको थपै गरिएको लकडाउन अन्तराष्ट्रिय सिमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय जत्तिकै जायज होला त? लकडाउनकै बिच करिब १०० संक्रमितको संख्या पुग्न १०६ दिन लाग्यो तर १०० बाट १००० पुग्न जम्मा १८ दिन । यसले के देखाउँछ भने लकडाउन मात्र कोरोना रोक्ने आधार होईन ? हरेक दिन बढिरहेको संक्रमित कहाँ र के कारणले बढेको छ त्यसको पहिचान गरि लकडाउनको मोडालिटि परिवर्तन नगर्ने हो भने सर्बसाधारणले दुख पाउने, अर्थतन्त्र डामाडोल हुने र कोरोना संक्रमण पनि नरोकिने निश्चित छ ।

क्यानेडामा कोरोना संक्रमितको संख्या शनिबारसम्म आईपुग्दा एक लाखको हाराहारीमा पुगेको छ ।क्यानेडामा संक्रमित ५० हजारको हाराहारीमा पुग्दा नेपालमा संक्रमित देखिएका थिएनन् । तर हालसम्म क्यानेडाले लकडाउन गरेको छैन् । झन स्टेटले लगाएको ईमर्जेन्सि पनि हटाएको छ । हरेक दिन बढ्ने संक्रमितको संख्या क्रमश घट्दै गएको छ भने रिकभर हुनेको संख्या करिब ६० प्रतिसत छ । खास क्यानेडा सरकारले कोरोना संक्रमण कहाँबाट फैलिएको छ ? कुन क्षेत्रमा यसका जरा फैलिएका छन् ? कहाँ के गर्दा यो कम गर्न सकिन्छ भन्ने पहिचान गर्यो र ती क्षेत्रमा ईमर्जेन्सि लागु गर्यो । मानिसलाई भौतिक दुरी, समूहमा भेलाहुने, सेनेटाईजरको प्रयोग गर्ने र अनुशाशन पालना गर्ने जस्ता कुरामा कडाई गर्यो तर नियमित भैरहेका र गर्नुपर्ने काम रोकेन । फलस्वरुप मानिस संयमित र अनुशाशनपुर्वक आफ्नो नियमित काममा लागिरहे जसले सरकारलाई आर्थिक भार पनि कम पर्र्दै गयो र संक्रमितको संख्या पनि नियन्त्रणमा आउन थाल्यो । यो त एउटा देशको उदाहरण मात्र हो । जर्मनीको उदाहरण अर्को प्रेरणादायक छ । त्यस्तै युरोपका अन्य मुलुकले कोरोना नियन्त्रणकालागि चालेका कदम अनुकरणिय छन् । जसले रोगमाथि नियन्त्रण, सर्वसाधारणको जीवनयापन सहज, आर्थिक भार कम र अर्थतन्त्रमा पर्ने गम्भिर दुर्घटना घटाउन सहयोग पुराएको छ ।

नेपालमा कोरोनाको संक्रमण वाहिरबाट भित्रिएको प्रष्ट छ । त्यसैले वाहिरबाट नेपाल भित्रिने कुरामा कडाई र भित्रिसकेकालाई ब्यवस्थित क्वारेन्टाईनमा राख्नु सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्दछ । दोश्रो संक्रमण फैलिएको क्षेत्रमा कडाई, थप परिक्षण, क्वारेन्टाईन र अस्पताललाई चुस्त बनाउनुपर्दछ । भौतिक दुरी कायम, अनिवार्य माक्स र पन्जाको प्रयोग, सर्वसुलभ सेनेटाईजरको ब्यवस्था, लापरवाहि गरि नियम उल्लंघन गर्नेलाई हदैसम्मको आर्थिक जरिवाना, हरेक ठाँउमा निगरानीकालागि सुरक्षाकर्मी र शंकास्पद ब्यक्तिको उचित उपचार गर्नु सरकारको तेश्रो कदम हुनुपर्दछ। हरेक नागरिकले जीवनस्वास्थ्य पहिलो हो त्यसपछि मात्र अरु भन्ने बोध गर्ने हो र अनुशाशनसहितको सावधानीपुर्ण आचरण अपनाउने हो भने यसको संक्रमण कम गर्न सकिन्छ भन्ने पाठ लकडाउन नगरिकन अष्ट्रेलिया, कोरिया, जापानले पाएको सफलताबाट पाउन सकिन्छ । ब्यवस्थित क्वारेन्टाईन, समयमा उपचार, सावधानीपुर्ण आचरण र सहज परिक्षणको ब्यवस्थापन नगरि लकडाउन मात्र थप्नुले कोरोना संक्रमणमाथि जित हासिल गर्न सकिदैन भन्ने कुरा भारतमा लकडाउनकाविच संक्रमित १ लाखको हाराहारीमा पुग्नुले देखाएको छ । त्यसैले लकडाउन मात्र होईन यसको कारण र रोकथामका अन्य उपायमा पनि गम्भिर बनौं ।

SHARE