कविता
म नेपाल आमा

तिमी भन्छौ, “भोकै कसैले मर्नु पर्दैन ।”
तर हेर ‍त मेरो छोरा सूर्यबहादुर
नाम्लो छातीमा राखी मर्‍यो बीच सडकमा कामै नपाई-खानै नपाई
तिमी भन्छौ‚ “तैयारीहरू पर्याप्त मात्रामा गरिएको छ”
“र क्वारेन्टाइनमा उचित स्याहर सुसार हुन्छ”
तर हेर त अस्पतालको मुखै देख्न नपाई
अनन्तमा विलिन हुन्छ एउटा सानो संसारको सपना
तर हेर त मरेको साता पछि आफन्तले थाहा पाउछन्
कि तिनका मृतक महामारीले ढलेका थिए
तिमी भन्छौ‚ “आज यहाँ-यहाँ त्यहाँ-त्यहाँ यति जना संक्रमित थपिए
के सङ्ख्याको गन्ती मात्रै हो त तिम्रा निम्ति ?
के यो ज्यानको कुनै मूल्य छैन तिमीलाई ?
तिमी भन्छौ‚ “मुलुकमा मानवीयता मात्रै छ छैन छुवाछुत”
“म स्वयम् अर्कैले उधारो दिएको जीवन बाँचिरहेछु ।”
तर हेर त मारिइ रहेका छन् नवराज विकहरू
जातजातिकै कलङ्कको कालो टीका ममाथि पोतेर
तिमी भन्छौ‚ “मिचिएको भूमि एक इन्च छोडिन्न ।”
र संवेग-आवेग सबै आफैतिर सोहरेका छौं मेरा तीनकोटी जनको
तर हेर्न बाँकी छ‚ होऽ मैले हर्ने बाँकी नै छ तिमीलाई अन्तिम परीक्षामा
तिमी पनि कुर्सी जोगाइरहने दाउपेचमा
कतै सौदाबाजी त गर्दैनौ दक्षिणी दूतहरूसँग ?
तिम्रा सबै खत माफ गरूँला
तिमी यो कदममा लडखडाएनौ भने
होइन भने धिक्कार तिमीलाई !
प्रकाश कुमार शर्मा
सल्यान

SHARE