जेष्ठ १०। गैडाकोट । गैंडाकोट नगरपालिकाका स्वास्थ्यकर्मीहरुमा कोरोना भाइरस (कोभिड १९) नभएको पुष्टि भएको छ । आज (शनिबार) पोखरामा गरीएको १७ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको हो । यो सँगै अब गैंडाकोट नगरपालिका भित्र कुनैपनि व्यक्ति कोरोना भाइरसबाट संक्रमित नभएकोसमेत पुष्टि भएको नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख झलक पौडेलले जानकारी दिनु भएको छ ।
यस अघि नगरपालिकामा कार्यरत दुई जना व्यक्तिको आरडीटी परीक्षण गर्दा पोजिटिभ रिपोर्ट प्राप्त भएको थियो । उनीहरु नगरपालिकाको वडा नं. ४ र ५ निबासी व्यक्ति रहेका छन् । उनीहरुको आरडीटी रिपोर्ट पोजिटिभ आएसँगै नगरबासीहरु त्रसित बन्दै आइरहेका थिए ।

लगतै शनिबार बिहानै गैंडाकोट ११ स्थित पितौंजीघाट नगर अस्पतालमा १७ जना स्वास्थ्यकर्मीहरुको स्वाव संकलन गरी पोखराको स्वास्थ्यविज्ञान प्रतिष्ठान स्थित कोरोना परीक्षण प्रयोगशालामा पठाइएको थियोे ।
शनिबार दिउँसो २ बजे पोखरा पुगेको गैंडाकोटको टोलीको इमर्जेन्सी भएको आधारमा गरीएको परीक्षणबाट छिट्टै रिपोर्ट प्राप्त भएको स्वास्थ्य शाखाका प्रमुख एवं जनस्वास्थ्य अधिकृत पौडेलले बताउनुभएको हो । उनीहरुको राति ९ बजे रिपोर्ट प्राप्त भएको हो ।

यसैबीच सञ्चारमाध्यमले अफवा फैलाउँदा समुदायमा भ्रम फैलिइरहेको भन्दै नगरपालिकाको स्वास्थ्य शाखाले दुःख व्यक्त गरेको छ । नगरपालिकामा कार्यरत कर्मचारीको प्रत्यक्षरुपमा मनोवल गिराउने गरी भ्रमित पार्ने कार्य गरेको भन्दै शाखाका प्रमुख पौडेलले दुखेसो पोख्नुभएको छ ।उहाँले पत्रकारिताको साधारण आचारसंहितालाई समेत ख्याल नगर्दै विपद् र माहामारीका बेलामा लोकप्रिय हुने भन्दै जथाभावी कार्य गरेको भन्दै उहाँले सच्चिन आग्रह गर्नुभएको छ । साथै कोरोनाबारे गलत भ्रामिक र गैर जिम्मेवार कुराहरु नफैल्याउन सम्बन्धित सबैलाई आग्रह गर्नुभएको छ ।

स्रोत : बिजय एफएम

SHARE