बैशाख १८ । काठमाण्डौं । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड(१९) को कारण विदेशबाट रोजगारी गुमाएर करिब १० लाख युवाहरु स्वदेश फर्कने सरोकारवालाले आँकलन गरेका छन् ।

बिहीबार श्रम रोजगार पत्रकार समूहले आयोजना गरेको अनलाइन पत्रकार भेटघाट कार्यक्रममा उद्योगी, ट्रेड युनियनका नेता तथा सरकार पक्षले विदेशबाट आउने युवाको सङ्ख्या बढ्ने आँकलन गर्दै व्यवस्थापनमा चुनौती आउने चिन्ता व्यक्त गरेका हुन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसी) का अध्यक्ष पुष्कर आचार्यले कोरोना भाइरसको कारण विश्वभर नै रोजगारी गुमाउनेको सङ्ख्या बढिरहेको अवस्थामा विदेशमा श्रम गरिरहेका करिब १० लाख युवाहरु स्वदेश फर्कने बताएका छन् ।
नेपालले अन्तर्रा्ष्ट्रिय उडान बन्द गरेको कारण उनीहरु नेपाल आउन नसकेको भन्दै उडान खोलेलगत्तै उनीहरु नेपाल आउने हुँदा व्यवस्थापनमा चुनौती हुने आचार्यले बताए । संक्रमणको कारण अब विदेशमा मात्रै नभएर स्वदेशमा पनि यसले असर गर्ने रोजगारीको क्षेत्रमा अहिले नै भयावहको स्थिति आइसकेको आचार्यले बताए । अहिले नै रोजगारीमा समस्या परेको भन्दै लकडाउन खुलेपछि पनि रोजगारीमा कटौती हुने आचार्यले बताए । अहिले पनि देशका ७६ प्रतिशत श्रमिकहरु असंगठित क्षेत्रमा काम गरिरहेको भन्दै दैनिक ज्याला मजदुरी गर्ने वा अन्य यस्तै प्रकृतिको काम गर्ने श्रमिकहरु बढी समस्यामा परेको आचार्यको भनाइ छ ।

SHARE