दिनभरमा घरमा सुतेर पाट्टिएको शरिर तान्दै झ्यालबाट फर्फराइरहेको सेतो पर्दा उघारेर बाहिर हेर्दा पल्लबका आँखा हातभित्र हात घुसायर पार्कमा हिडिरहेको जोेडिमा पर्यो । ज्यान बचाउन भन्दै सबै घरमा थन्किएपनि उनीहरु आफुहरुलाई अजम्बरी झै ठानेर हिडिरहेका थिए । कतिदिनदेखि कसैको स्पर्श नपाएको पार्कमा राखिएका मेचमा उनीहरु मज्जाले थुचक्क बसे । सुर्य क्षितिजको लालीमा पुगेका थियो । सुनसान मधुर सन्ध्यामा उनीहरु एकअर्काको चुचो जोडेर मादक प्रेमालाप गर्न थाले । उनीहरु मस्किदै गफिएको विषय उसले सुनेन तर कोभिड १९ ले लुटेको आफ्नो खुशी सम्झिएर ऊ टोलाउदै हरायो आफ्नो विगतमा ।
………….
धर्के निलो सर्ट, निलो टाई र कालो पाईन्टमा थिई समिक्षा “ दाई यहाँ बस्न मिल्छ?” उसले अर्को पट्टी सरेर भन्यो बस्नुस न । कक्षा १२ पढ्न नयाँगाँउबाट बुटबल जाँदा उसले पहिलोपटक समिक्षालाई भेटेको थियो । त्यसपछि उसले एउटै बस नपरे अर्को बस कुरेरै भएपनि आँउदाजाँदा समिक्षालाई भेट्थ्यो । विएस्सी पढ्ने बेला एउटै कलेज भएपछि त उसलाई के खोज्छस काना आँखो जस्तो भयो । मित्रताको हात बढाउँदै उसले समिक्षालाई पे्रमिल आँखामा सजाउन थाल्यो । भर्खर १८ बर्ष पुगेकी समिक्षाका चन्चल आँखा, हात्तिझै लमकलमक हिड्ने बानी र यता उता हेरेर बोल्दा देखाउने हाऊभाऊ फिल्मी हिरोईनका जस्ता थिए । सलक्क परेको उचाई, तेजिला आखाँ र चिल्लो कालो अनुहार पल्लब पनि कम थिएन । एकले अर्कालाई तान्न कत्ति बेर लागेन । मौका मिलाएर घुम्न जानु र गफिनु उनीहरुकालागि स्वभाविक बन्दैगयो । एकदिन उसले बुटबल फुलबारीमा डराई डराई कान राता बनाउँदै भन्यो “आई लभ यु समिक्षा ।र्” समिक्षाले नबुझेजस्तो गरेर भनि “ के भन्यौं रे?” उसले हिम्मत जुटायर दोहोराउँदै आखाँमा आँखा जुधायर भन्यो “ आई लब यू ।” समिक्षाले एक थप्पड उसको गालामा हिर्काई ऊ निकै डरायो अब के हुने हो ? बल्लतल्ल मिलाएर फुलबारी घुमाउन ल्याएको अब कसरि फर्किने । फर्किने बेला मोटरसाईकलमा उसलाई कसरि बसाउने ? के भन्ने कसो गर्ने ? ऊ निकै डरायो । छटपटिएको पल्लबलाई हेर्दै समिक्षाले भनि “बुद्धु मान्छे , यति भन्न पनि यतिका समय लगाएको ? मैले यहि सुन्नकोलागि कति समय कुरे । मेरो मनको कुरा बुझ्न नसक्ने पागल बुद्धु ।” पल्लबले खुशीको मुस्काथ दियो र समिक्षालाई अगालोमा बाध्यो ।

४ बर्षअगाडि ईन्जिनियरिङ पढ्न अमेरिका उढ्दा उसले समिक्षाको निधारमा चुम्बन गर्दै भनेको थियो । मलाई पर्खिबस्नु है । म तिम्रो र तिमि मेरी हौं । अमेरिका आएपछि उसको दैनिकी फेरियो तर मन फेरिएन । उसले अमेरिका आएर थाहा पायो पढाईको सकस र कामको अर्थ । दैनिक १४ घण्टा ब्यस्त हुदाँ पनि उसले समिक्षालाई फोन गर्न कुनै दिन छुटाएन । कामको थकानहोस वा पढाईको तनाब उसको विसाउने चौतारी समिक्षासँग हुने कुराकानी थिए । पल्लबको अनुमतिले नै समिक्षा विएस्सीएजी पढ्दा पढ्दै छात्रबृत्ति पाएर फ्रान्स पढ्न गएकी थिई । पढ्न जानेबेला समिक्षाले गरेको फोन मध्यरात हुँदा पनि उसले उठायर भनेको थियो । “ह्याभ अ नाईस जर्नी र गुड टायम अहेड कालु । पुगेपछि फोन गर्नु ल ।”

                 “  मार्च १२अर्थात फाल्गुन २९ गतेलाई फिक्स भो रे हाम्रो विहे थाहा पायौं” समिक्षाले फोन गरेर भनेकी थिई । दुबैका आमावुवा राजीभएकाले विहेको दिन फिक्स गर्न खास कुनै सकस भएन उनीहरुलाई । उसले पेरिसको “ फोरम डेस हालेस सपिङ्क सेन्टर”बाट फोन गरेर सोध्धै थिई तिम्रो जुत्ताको साईज त्यहि १० हो कि बढ्यो ? पल्लबले जिस्किदै भनेको थियो “अहिले त १२ पुग्यो नि।” यस्तै जिस्किदै जिस्किदै उनीहरु ३ घण्टा गफिएका थिए । उनीहरुमा ४ बर्षपछि हुन लागेको भेटभन्दा पनि प्रेमि प्रेमिकाबाट पतिपत्नि हुने कुराले झन खुशी थपेको थियो ।

आईतबारको दिन थियो । दिउँसो नै ऊ सुतेको थियो । झमक्क साँझ पर्ने बेला ऊ ब्युझियो । फेसबुकको म्यासेन्जर खोल्यो । खोल्दा नखोल्दै भिडियो कल आयो । उसले लामो हाई काडेर कल उठायो । “साच्चि भन त म कस्ति देखिएकी छु ?” रातो ग्राउन लगाएकी समिक्षाले सोधी ? उसले भन्यो “मात्तिएकी ।” किनकी उसले सजिलै थाहा पायो । आज उसले टन्न पिएकी छ । उसले पिउने दिन जहिले उसलाई सोध्ने पहिलो प्रश्न यहि हुन्थ्यो । नजिकैको क्यान तानेर उसले भनि “ माईन्ड नगर ल तिम्रो सम्झनामा पिएको।” ऊ मुस्कुरायो । “तिमी कलेज पढ्दा खास के देखेर मेरो पछि लागेको ?” उसले पुरानो कुरा कोट्टाई । “तिमीलाई थाहा थियो म यस्ती छु भनेर?” लरवरिएको आवाजमा उसले सोधी । “त्यतिवेला मात्र होईन आजसम्म म तिम्रै पछि त लागिराखेको छु नि।” उसले जवाफ दियो । रक्सीका नशामा ऊ झन मदहोसी देखिएकी थिई । ग्राउनको छेऊवाट देखिएका उसका पुष्ट परेका नितम्ब र लठ्ठिएका आँखाले पल्लबलाई आनन्द दिईरहेका थिए । “ थाहाँ छ मेरो धप्धपाउँदो जवानी देखेर कति पछि लाग्थे म बाटोमा हिड्दा छेडखान गर्ने, घच्चा मार्न खोज्ने त कति थिए कति तर तिमि त हेर्दै माया गर्ने टाईपको क्या त्यसैले छाड्नै सकिन् ।” घमण्ड देखाउँदै उसले मदहोसी लवजमा भनी । टन्न मातिने गरि रक्सि पिएकोमा गर्भ गर्दै उसले भनि “आज हाम्रो विहे फिक्स भएको खुशीमा श्रद्धालाई वोलायर टन्न पिएको । म लाष्ट खुशी छु, तिमीसँगै भएको भए अझै २ क्यान सक्नेथिए ” हातको क्यान देखाउँदै भनि “यो पाँचौं मात्र हो ।” पल्लबलाई समिक्षासँग खुलेर गफ गर्न निकै मजा आएको थियो । केहि पुराना कुरा सम्झदा लाज लाग्यो, केहि पुराना यादले खुशी दिए त केहि अनुभुती सम्झदा आँखा रसाए । गफिदै जाँदा समिक्षाले विहान भएको थाहा नै पाईन । पल्लबले डिनर गर्न नै भ्याएन एक गिलास दुध पियो र सुत्यो । सुत्नुबेला आफुले आफैलाई हेर्यो । सम्झियो उसको शरिर मुसार्ने क्रममा कैयन पटक उसको टाँउकोलाई काखमा राखेर कानमाथि स्पर्स गर्दै समिक्षाले भन्थिन “हजुर अमेरिका गएपछि यसभन्दा नदुब्लाउनुहोस ल ? तपाईको यहि शरिर निकै राम्रो लाग्छ ।” तर आज उसको शरिर दुब्लाएको छ । उसले कपडा राख्ने दराजको ऐनामा आफ्नो शरिर हेर्यो । आफैले आफैलाई सुन्दर सम्झदै विस्तारमा पल्टियो ।

फेब्रअरि २८ का लागि टिकट काट्यो पल्लबले । समिक्षाले २९ साँझमा नेपाल पुग्ने गरि टिकट मिलाई । लगेज भरेको पनि एक हप्ता भईसकेको थियो । दिनदिनै लगेज उचाल्दै उसले त्यसको तौल जाँच्थ्यो । समिक्षाले पनि आफ्नो २ वटा लगेजमा खाँदी खाँदी सामान भरेकी थिई । पेरिसवाट हडकड हुँदै नेपाल पुग्ने समिक्षा । अमेरिकाबाट बैकक हुँदै काठमाण्डौं उत्रने पल्लब लगभग एउटै समयमा नेपाल पुग्ने योजनामा थिए । आ आफ्ना योजना बनाउँदै उनीहरु गफिन्थे । दिनभरको कामको थकान मेटिन्थ्यो । कहिले मज्जाले हास्थे । कहिले सानोतिनो कुरामा ठुस्स पनि पर्थे । एकले अर्काकालागि किनेका उपहार भिडियोकलमा देखाउथे । एकअर्काको च्वाईसमा कति सामान साटफेर समेत गरे ।

टेक्सास डालसनजिकैको नेपाली रेन्टुरेन्टमा रातको ११ बजे साउनीले छेड हान्दै भनिन “ए पल्लब बाबु अलि खानुपर्यो क्या अब त ! यति दुब्लो छौं हुनेवाली स्वास्नी कसरि सुमर्छौ हँ ?” त्यो रात उसले भिडियो कलमा आफनो छाती नापेर देखायो । उसले नशा विर्सिएर आफ्नो आँटिलो रवाफ देखाउने कोशिष गर्यो । मुस्कुराउँदै समिक्षाले भनि “तिम्रो यस्तै शरिरको त म फिदा बनेकी हुँ।” उसले मनमनै साउनीलाई गालि गर्यो । एउटा कुर्चिमा नै नअटाउने उनको श्रीमानलाई सम्झियो अनि साउनीको कुरा चित्त बुझाउने प्रयास गर्यो । अर्कोतर्फ सोच्यो के गरुँ त अब, आफुलाई भगवानले दिएकै यस्तो । आफैले आफुलाई चित्त बुझायो ।

पल्लब हत्तपत्त कमिजको टाँक लगाउँदै निश्कियो । राती अवेरसम्म फोनमा भुलेको पत्तो नै भएनछ । विहान ९ बजिसकेकोले उसले ब्रेकफाष्ट गर्न समेत गर्न भ्याएन ह्यागओभर मेटाउन एक गिलास तातो पानीमा कागती हालेर खायो । हतार हतार ऊ बस स्टेशन पुग्यो । बसको सिटको छेऊमा जबर्रजस्त अनुहारमा के के दलेर आफैलाई तरुनी बनाउन खोजेकी महिला थिईन । उसले खास वास्ता गरेन । उसले बाटोभरी हिजो रातीको आफ्नो वार्तालाप सम्झियो । केहि कुरामा लज्जायो केहि कुरामा भित्रभित्रै हास्यो । समिक्षाको तस्बिर मनभित्र सजायो । अनि हातमा ग्लोब्स(पन्जा) लगायो सुरु गर्यो आफ्नो काम । कामभित्रै उसले समिक्षालाई अमेरिका ल्याएको कल्पना गर्यो । छिट्टै आफ्नो जीवनशैली फेरिएको र धनी बनेको सपना बुन्यो । २ बर्षदेखि गरेको काम आफैलाई दिक्क लागेर आयो उसलाई । १५ दिनमात्र त हो त्यसपछि त नेपाल गईहाल्छु आएपछि कसले गर्छ र यो काम मनमनै भुतभुतायो र आफैलाई सान्त्वना दिने प्रयास गर्यो ।

३ दिन वाँकी थियो । टिकट र पासपोर्टलाई ह्याण्ड ब्यागमा राख्यो । केहि छुट्छ कि भनेर सवैतिर नजर लगायो । वुवाकालागि लैजान लागेको आईफोन एक्स आरलाई लगेजको कुनामा राख्यो । त्यत्तिकैमा फोन बज्यो । उसले म्यासेन्जरको भिडियो कल अन गर्दै भन्यो “सबै तयारी भैसक्यो आमा अब ४ दिनमा हजुरसँग भेटहुन्छ ।” आमाले खुशीको मन्द हासो हास्नुभयो । “कस्तो झुस्स दारी पालेको अलि दुब्लाएछस तँ त ! सन्चै त छस नि ?” आमाले मायाले भन्नुभयो । वावाले पछाडिबाट थप्नुभयो “ के के जाती नाममको भाईरस आछरे सबैतिर अलि विचार गरेर आएस नि ” । उसले दारी अलि मिलाएजस्तो गर्यो मधुर मुस्कान दिदै भन्यो “ केहि भएको छैन मलाई एकदम ठिकठाक छु चिन्ता लिनुपर्दैन । म ख्याल गरेरै आउछुँ बुवा । फेरि त्यो कोरोना भन्ने भाईरस हो त्यो त चाईनामा मात्र छ के केहि आत्तिनुपर्दैन ।” फोन राखेपछि उसले एकपटक फेसबुकको वालहरुमा आँखा घुमायो ।

कुकरले सिठि हानेर दाल पाकेको संकेत गर्यो । राईस कुकरमा भात पाकिसकेको थियो । अण्डाको अमलेट तयार गर्यो । एकछिन सेलाउन राख्यो अनि कुर्चिमा बस्यो र मोवाईलमा आँखा लग्यो । समिक्षा ढुंगाना कलिङ मेसेन्जरमा भिडियो कल आयो । खुशीसहित मोवाईल स्क्रिनको हरियो बटनमा औला लतार्यो “के छ हो काली? मेरो त सब्बै तयारी सकियो अब रेडि । तिम्रो के हुँदैछ ?” समिक्षा बोल्नुभन्दा अगाडि नै उसले आफ्नो कुरा सक्यो । टाँउकोमा रुमाल वाधेर निला ओठ बनाउँदै विस्तारामा पल्टिएकी समिक्षाले मधुरस्वरमा भनी “हेर न म त रुघाखोकी र ज्वरोले सिकिस्तै भँए ।” उसले साथी श्रद्धाले छेऊमा ल्याईदिएको एक गिलास मनतातो पानी सुरुप्प पारी । पानीको घुट्का निल्दा नलिल्दै उसलाई लगातार खोकी लाग्यो । पल्लब हेरेको हेरै भयो । १ मिनेटपछि आँखाभरी भरिएका आशु पुच्छ्दै मधुर आवाजमा समिक्षा वोली “ औषधी खाँदै छु हेरौं पर्सीसम्म ठिक होला नि । म भोली कल गर्छु ल म सुत्छु अहिले ” पल्लबले केहि भन्न खोज्यो तर केहि भन्न नै सकेन । समिक्षाको दुख आफुले पनि लिन खोज्यो मलिन अनुहार बनाएर बोल्यो “ठीक हुन्छ नआत्तिनु औषधि खानु केयर गर्नु है चिन्ता नगर पर्सीसम्म सबै ठिक हुन्छ।” फोन राखेपछि उसको मनमा धेरै कुरा खेल्न थाल्यो । राम्रा नराम्रा कुराले मन भरियो उसको । ह्या रुघाखोकी त हो पर्सीसम्म त ठिक भैहाल्ला नि । मनमनै चित्त बुझायो र सुत्यो ।

भोलीपल्ट विहान उसले समिक्षालाई म्यासेन्जरमा फोन गर्यो, भाईबरमा कल गर्यो, वाट्सअपमा वोलायो तर केहि उत्तर आएन । उसले मोवाईल गएर नम्बर डायल गर्यो सुमु डार्लिङ तर भ्वाईस मेसेज आयो समिक्षाको फोन उठेन । ऊ आत्तियो के गरौं कसो गरौं भयो । फेसवुकमा गएर सर्च गर्यो नाम श्रद्धा थापा अनि म्यासेजमा गयो र कल गर्यो । “हेलो” श्रद्धाको आवाज सुनियो । “श्रद्धा किन समिक्षाको फोन उठ्दैन त , के भो समिक्षालाई ? ठिक त छ नि ?तिमि कता छौ ? समिक्षा कता छिन ? किन मेरो फोन नउठाएकी ? एकपटक कुरा गर्न मिल्दैन ? उनीसँग ।” एकोहोरो उसले आफ्ना सबै प्रश्न श्रद्धालाई तेर्स्यायो । श्रद्धाले विस्तारै भनी “ ज्वरो असाध्यै बढ्यो सास फेर्न गाहे भएजस्तो भयो त्यसैले हिजो साँझ नै अस्पताल ल्याएको । म वाहिर वेटिङ्करुममा बसिराखेको छु । ऊ भित्र छ ।” पल्लब झसंग भयो । लामो सास तान्यो हात कपालमा लग्यो । भगवानलाई सम्झियो । समिक्षालाई केहि भएको छैन त्यसै अस्पताल किन लगेको जस्तो भान भयो उसलाई । केहि वेर उसको वाक्य रोकियो “ अहिले समिक्षालाई भेटेपछि मलाई कल गर्नु ल” यति भनेर फोन राख्यो ।

श्रद्धाको फोन कुर्दाकुर्दै ४ घण्टा वित्यो । उसले गरेको फोन समेत उठेन । फेरि थचक्क बेडमा बस्यो । झोक्रायो । पटकपटक मोवाईलमा आँखा लग्यो । केहिवेरमा म्यासेज गर्यो “ श्रद्धा समिक्षासँग भेट भयो कि भएन ? अहिले कस्तो छ उसलाई ? जवाफ आयो “ कोरोनाको संक्रमणको आशंकामा उसलाई एक्सेस ईमर्जेन्सी हस्पिटल लगेको छ म अहिले घर फर्किएकी छु ।” पल्लब छांगाबाट खसेजस्तो भयो । आत्तिएर यताउता गर्न थाल्यो । टेबलमा राखेको एक गिलास पानी खायो । उसलाई निकै छटपछि भयो । सोफामा बसेर टिभि खोल्यो । टिभिको हेडलाईन हेर्यो कोरोना भाईरसबाट विश्वमा संक्रमित हुनेको संख्या ९० हजार कटेको छ । ७ हजारभन्दा बढिको ज्यान गईसकेको छ । उसले त्यही तथ्यांकभित्र आफ्नी समिक्षालाई देख्यो । ८० प्रतिसत केस रिकभर भएको अर्को खबरले चित्त बुझाउने प्रयास गर्यो । पर्सीपल्ट नेपाल जाने टिकट के गर्ने अलमलमा पर्यो । यस विषयमा एकपटक समिक्षासँग कुरा गर्न चाहन्थ्यो ऊ । उसले टेक्सासमा रहेका सिनियर दाजुलाई फोन गर्यो आफु फ्रान्स जाने उपायको बारेमा सोध्यो । कुनै उपाय नभएको जवाफ पाएपछि दिक्क मानेर विस्तारामा पल्टियो । टाउकोमा रातो रुमाल बाधेर, आखाँभरी पिलपिल आँशु बनायर पर्सीसम्ममा त ठिक होला नि भनेकी समिक्षाको तस्बिरमा उसको आँखा वरिपरि घुम्न थाल्यो । मोवाईल निकालेर आफ्ना र समिक्षाका पुराना तस्बिर हेर्न थाल्यो । प्रत्येक तस्बिरले उसलाई झन झन पिडा थप्न थाले । आफ्नो बेचैनीलाई कम गर्न गिलासमा एक प्याग भर्र्यो र सुरुप्प पार्यो ।

साँझ श्रद्धाको फोन आयो । समिक्षालाई कोभिड १९ पोजेटिभ देखिएछ । उसलाई १४ दिन अस्पतालको क्वारेन्टाईनमा राखेर उपचार गनुपर्ने भएछ । समिक्षासँग साथमा भएकाले श्रद्धाको समेत परिक्षण सुरु भएछ । सौभाग्यबस श्रद्धालाई त्यस्तो लक्षण केहि पनि नदेखिएकोले ऊ घरभित्रकै क्यारेन्टाईनमा बस्न सुरु गरेकी रहिछ ।

केहि बेरमा आमाको फोन आयो । आँखा भरि छचल्किएका आँसु लुकाउने प्रयास गर्यो र सम्हाल्लिदै फोन उठायो । “ पल्लु तिमि भोली हिड्ने होईन ?” आमाको आवाज आयो । ऊ एकछिन अड्कियो ? के भनौं के गरौं भन्ने सोच्यो “ हुन त हो आमा तर टिकट १५ ─२० दिन पछाडि सार्नुपर्ने भो अलिपछि आउने भए म ।” आमाको अगाडि सामान्य हुने प्रयास गर्यो । आमाको पछाडि उभिरहेका वुवाले अलि रिसाएको श्वरमा भन्नुभयो “के भन्छ यो ? चैतमा आएर कसरि विहे गर्छस ? लगन चाहिने होला नि विहे गर्न त ?” पल्लबले सान्त्वना दिदै आश्वस्त पार्न खोज्यो “वैशाख १ गते नयाँ बर्षको दिनमा नै गरौंला नि वुवा विहे । अलि पछाडि भएर के भो र ? वुहारी तिनै हुन ।” वुवाआमालाई चित्त बुझाएजस्तो महसुस गर्यो। “किन के भयो र वावु” आमाले जिज्ञासुपाराले सोध्नुभयो । समिक्षालाई कोरोना संक्रमण भएको कुरा उसले भन्न सकेन । फेरि के भनेर कुरा मिलाउने अप्ठ्यारोमा पर्यो । “ समिक्षाको कलेजमा केहि दिन रोकिनुपर्ने भो ? अब फेरि फर्कियर फ्रान्स जाने कुरा भएन सबै काम सकेर उनी १५ २० दिनपछि आउने भईन । म पनि त्यहि अनुशार मिलायर आउछु । फेरि ढिलो आएपनि के भो र ढिलो सम्म नेपाल बसौला नि जेठको अन्तिमसम्म ।” उसले आमावुवालाई विश्वास दिलाउन खोज्यो ।

हस्पिटलको भित्तामा झुण्डिएको ईलक्ट्रिकल डिस्प्लेले देखाएको थियो मार्च १२, २०२० । ३ पिएम । कोभिड १९ नभएको भए आज समिक्षा रातो सारीमा लपक्क सजिदै, हातमा चुरा, गोडामा पाउँजु छमछम पार्दै जन्मघरबाट कर्मघर पल्लबको घरमा जाने थिईन । शिरमा सलले मुहार छोपेर लजाउँदै गरेकी उनलाई हेर्न आएका आफन्तहरुले आगन र छिमेक ढपक्क ढाकिने थियो । ढाकाटोपी सजाँउदै दुबोको मालामा सजिएको पल्लबले हात समातेर ७ फन्का जग्गे घुमेर उनको सिन्धुर भरिदिने थियो । ५ बर्षदेखि बुनेको सुन्दर सपना पुरा हुने थियो ।सुहागरातका लागि सजाईएको सुन्दर विस्तारामा सुत्ने बेला अस्पतालको विझाउने बेडमा मृत्युसँग लड्दै गरेको आफैलाई देखेर समिक्षाले आफुलाई सम्हाल्न सकिन । समिक्षाका आखाँ भरिए । उसका गाला राताराता भए । हातगोडा थरथर काम्न थाले । ओठमुख सुकेजस्तो भयो । मुखमा लगाएको अक्सिजनको माक्स लरखराउन थाल्यो । ऊ चिच्चाउन खोजी तर सकिन । चिटचिट पसिना आउन थाल्यो । मुखबाट र्याल बग्यो । छटपटाउँदै गरेकी उसलाई देखेर नर्स दौडदै आई । उसले यताउता गर्न खोजी । ऊ पनि आत्तिई । के गर्ने केके गर्ने अन्योलमा परि । डाक्टरलाई वोलाई । उसका वरिपरि स्वास्थ्यकर्मी भरिए । केहि बेरमा समिक्षा शान्त भई विल्कुल शान्त । उसका आँखा एकोहोरो टोलाईरहे । हात लतरंग पल्टिए । पाईपबाट आँउदै गरेको अक्सिजन रोकियो । बेडछेऊमा झुण्डिएको स्क्रिनमा तलमाथि गरेर दौडदै गरेका तरंगहरु रोकिए । वरिपरि झुम्मिएका डाक्टर र नर्सले कानेखुशी गरे । नर्सले विस्तारै उसको आखाँ चिम्म बनाईदिई । टाँउकोसम्म ढाकिने गरि सेतो ओढ्नेले उसको मुख छोपिदिई ।
……….
आफ्ना आँखाबाट बगेका आँसुका थोपा खुट्टामा पुगेपछि पल्लब झल्यास्स भयो । पार्कमा बसेको त्यो जोडी उठेर अलि पर पुगिसकेको थियो । उनीहरु उस्तैगरि हिडिरहेका थिए जसरी उसले समिक्षाका काँधमा आफ्ना हात राखेर कपाल सुमसुमाथ्यो । उसको हातभित्र हात घुसारेर कम्मरमा समातेर समिक्षा हिड्ने गर्थि । बुटवलको चौडाहामा त्यसरी नै हिड्दा समिक्षाले भनेकी थिई “ पल्लब मैले तिम्रो साथ कहिल्यै छाड्ने छैन् प्रोमिस ।” तर आज उसले पल्लबलाई मात्र होईन संसार छाडेर गएको पनि १३ दिन भैसकेछ । झ्यालको पर्दा लगायो र पल्लब वासरुम गयो । फेसवास लगायर मुख धायो तर उसको मुहारमा अमिट छाप बनेर बसेको समिक्षा दाग जतिपटक धोएपनि गएन । अनि धित मर्ने गरि सराप्यो आफ्नो खुशी लुट्ने कोरोना भाईरसलाई ।

SHARE