भक्तपुर, १५ चैत । लकडाउन शुरु भएदेखि भक्तपुर जिल्लाका विभिन्न ईंटाभट्टामा काम गर्ने ७ हजार ५ सय मजदूर घर फर्किएका छन् ।

सरकारले गरेको लकडाउनको समयमा पनि ईटा भट्टाहरु सञ्चालन भएपछि जिल्ला प्रशासन कार्यालय, भक्तपुरले अनुगमन गरी ईटाभट्टाहरुमा काम बन्द गराएर उनीहरुलाई घर पठाउने व्यवस्था मिलाएको हाे ।

घर फर्कन नचाहने कामदारलाई आफू बसेको भट्टामा सुरक्षा अपनाएर बस्न आग्रह गरेको र ईटाभट्टामा काम गरेको पाइएमा कारवाही गर्ने चेतावनी समेत दिइएकाे प्रशासनले जनाएको छ ।

भक्तपुरका ईटाभट्टाहरुमा विषेश गरी रोल्पा, रुकुम तथा तराईका जिल्लाहरुका कामदार छन् । घर फर्कने मजदूरका लागि पासको व्यवस्था गरी एक गाडीमा २५ जनाको समूह बनाएर पठाइएकाे छ ।

बिहीबार र शुक्रबार गरी दुई दिनमा ७ हजार ५ सय मजदूरलाई घर फिर्ता पठाएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिनुभयो ।

भक्तपुरमा ६२ वटा ईटाभट्टा छन् । यस्तै भक्तपुरका अन्य उद्योगहरुमा काम गर्ने कामदारहरुको पनि नामावली संकलन गरिरहेका र उनीहरु पनि घर जान चाहेमा पठाउने व्यवस्था मिलाउने प्रजिअ पाण्डेले बताउनुभयो ।

SHARE