‘गतिलो कुलघरानबाट कुरा आएको छ। राम्रोसँग सोच्नू। यो केटा पनि उम्कियो भने राम्रो हुन्न’ आँखा ठूल्ठूला पार्दै बुवाले भन्नुभयो।

म अहिले बिहे गर्दिनँ। के बितेको छ र? मैले सिधै इन्कार गरेँ।

हैन, बुढीकन्या बस्ने विचार छ र? बुवा झन् कड्किनुभयो।

म केहि नबोली बसेँ।

२४ वर्ष भएँ। लक्का जवान छु तैपनि खोइ किन हो मलाई विहेको कुराले आकर्षित गरेन। कुनै जवानप्रति यो मन लोभिएन। अचम्मित छु।

मेरो वुवा १६ टेकेकी छोरीलाई कन्यादन गर्न हतारमै हुनुहुन्थ्यो। २४ वर्ष पर्खनुभयो त्यसैले उहाँको अनुहारमा आक्रोश स्वभाविकै लाग्थ्यो।

केटा पनि नखोजेको होइन बुवाले। तर म मानेको छैन क्यारे! त्यसैले बुवाले मलाई कन्यादान दिन पाउनु भएको छैन।

म घरकी कान्छी छोरी हुँ। पुल्पुलिएर हुर्केको हुनाले स्वभाव छुच्चो छ। चित्त नबुझ्ने कुरा गर्नेलाई ठामको ठाम जवाफ फर्काइदिहाल्छु।

घरमा दाइ र दिदी पनि हुनुहुन्थ्यो। दिदी सोझी, सधैं हाँसिरहने। सानो छँदाका कुरा, म र दाइ झगडा गर्दै बुवाको गाली खाँदा पनि केही नभन्ने मेरी दिदी। भाइबहिनीको मायाले त हुनुपर्छ उनले त्यसबेला मौनता साँधेको।

तर के गर्ने सोझीलाई भगवानले ठग्ने रहेछन्। म ८ वर्षको हुँदा दिदी १६ वर्षकी। त्यसबेला दिदीको खान्दानी घरको केटासँग विहे भएको हो। भिनाजु सरकारी जागिरेवाला, भर्खरै एसएलसी पास गरेको।

भेनाले दिदीलाई निकै माया गरेका थिए। सँगै सदरमुकाममा राखेका पनि हुन्। सायद पढाउन होला।

तर विहेको वर्षदिन नपुग्दै छोरी जन्मिइन्। दिदीले पढाइलाई छाडेर छोरी हुर्काउनुपर्ने भयो। यहीबेला भेनाको दुर्गम गाउँ सरूवा भएको थियो।

यहीबेला दिदी विरामी हुनुभयो। अस्पताल भर्ना गरेको तीन दिनमा पनि होस आएन। घरमा मात्रै होइन गाउँमा पनि रूवाबासी थियो। किनभने दिदी गाउँकै प्यारी हुनुहुन्थ्यो।

सबैले माया मारिसकेका थिए। दिदी घर फर्कनेमा विश्वास गरिरहेका थिएनन्। सास रहुञ्जेल आश भन्छन् त्यसैले होला ऋणधन गरेर भए पनि बुवाले दिदीको उपचार गर्न हेलिकप्टरबाट काठमाडौंका अस्पताल पनि पुर्‍यानुभयो।

काठमाडौंमा हाम्रो घर थिएन। ठूलोबुवाको थियो। अस्पतालमा चाहिने सहयोग ठूलोबुवाले गर्नुहुन्छ भन्ने आशा थियो। दिदीलाई काठमाडौं लगेकै भोलिपल्ट भिनाजु घरमा आइपुग्नुभयो। उहाँलाई देखेर हाम्रा आँखा रसाए।

पानी परिरहेको थियो। पहिरोले विजुलीका पोल बगाइदिए। जिल्लामै टेलिफोन चलेन। फोन गर्न ६ घण्टा हिडेर अर्को जिल्लामा जानुपर्ने।

दिदीलाई काठमाडौं लगेको दुई दिनपछि बुवा ६ घण्टा हिडेरै फोन गर्न जानुभयो। फर्कंदा अँध्यारो भइसकेको थियो। थकित थिए अनुहार।

दिदीलाई मेनिन्जाइटिस भएको र थकानले भेनालाई पनि हल्का ज्वरो आएको खबर बुवाले सुनाउनुभयो। त्यो रात अबेरसम्म बुवा-आमा छोरीकै चिन्ताले सुत्न सक्नुभएन।

बुवा दिदीलाई भेट्न काठमाडौं जाने सल्लाह त भयो तर बाटो बिग्रेर पाँच दिन मोटर नआउने कुरा पछि थाहा पाइयो। भगवानसँग दिदी र भेनाको शीघ्र स्वास्थ्यलाभ गर्नेबाहेक हामीसँग अर्को उपाय बाँकी रहेन।

आमाले राम्रोसँग भात खान छाडिसक्नुभएको थियो। छोरीको चिन्ताले निन्द्रा पर्न छाडेको थियो। यतिमात्र होइन छ महिने दुधे नातीनी सम्झेर पनि आमालाई गाह्रो भइरहेको थियो।

चार दिनमा बाटो खुल्यो, मोटर चल्यो। आमाले एक बट्टा घ्यु, गुन्द्रुक झोलामा राखिदिएपछि बुवा काठमाडौंका लागि निस्कनुभयो।

दाइ र म बुवालाई पुर्‍याउन सदरमुकाम पुगियो। बुवा बस चढ्नुभयो। यत्तिकैमा अर्को बसभित्रबाट चर्को स्वर आयो। कोही रोइरहेको आवाज हाम्रो कानमा आइपुग्यो।

यसो हेरेको सेतो लुगा लगाएकी महिला रूँदै रहिछन्। छेउका अधबैंशे पुरूष उनलाई सम्झाउन खोजिरहेका थिए। ती महिला भएकै ठाउँतिर हामी गयौं।

बाबा, आमा भनिरहेकी ती महिला देखेर हामी निशब्द भयौं। शरीरमा हजारौं भोल्टको करेन्ट प्रवाह गरेझैं भयो। उनी त मेरी दिदी पो रहिछन्।

बुवालाई देखेपछि दिदीले अँगालो मारेर झन् रूनुभयो। दिदीलाई सम्हान खोजिरहेका ती पुरूष दिदीका जेठाजू रहेछन्। ब्लड क्यान्सरकै कारण भिनाजुको निधन भएको दिदीका जेठाजूले भनेपछि थाहा पायौं।

कस्तो विडम्बना। कति निर्दयी भगवान।

यो अवस्थाकी रोगी श्रीमतीलाई बचाउन सफल श्रीमानलाई भगवानले चुँडिदियो। हाम्रो घर त उजाड भयो। भिनाजु बितेको केही पछि दिदीको गर्भबाट अर्की लक्ष्मीको जन्म भयो।

फेरि बुवामाथि केटो खोज्ने जिम्मेवारी बढ्यो। १८ वर्षमै विधवा भएकी मेरी दिदी आफ्ना अतृप्त चाहना वेवास्ता गर्दै दुई छोरीका जीवनमा ज्योति छर्ने आशामा मुस्कुराइरहनुभएको छ।  सभार : सेताेपाटी

 

SHARE