प्रेम क्षेत्री/माघ , गैंडाकोट । गैंडाकोटमा यहि माघ २७ गते गैंडाकोट प्याब्सन एजुकेशन एक्स्पो हुने भएको छ । प्याब्सन गैंडाकोटको आयोजनामा गैंडाकोट नगरपालिकाको कार्यालय नजिक विद्यार्थीको कला, ज्ञान, सिप र प्रतिभालाई सार्वजनिक गर्न एक दिने गैंडाकोट प्याब्सन एजुकेशन एक्स्पो हुने भएको हो ।

गैंडाकोट प्याब्सन एजुकेशन एक्स्पोमा शैक्षिक सामग्रीसहितको विज्ञान प्रदर्शनी, शैक्षिक फुड स्टल र संस्कृतिक कार्यक्रम हुने मंगलबार गैंडाकोटमा पत्रकार सम्मेलन गरि आयोजक प्याब्सन गैंडाकोटका अध्यक्ष गोपेन्द्रकेसरी न्यौपानेले जानकारी दिनुभयो । उहाँले शैक्षिक गुणस्तरका साथसाथै विद्यार्थीहरु अन्य सिप र कलामा पूर्ण छन् भन्ने देखाउन एजुकेशन एक्स्पो गर्न लागिएको बताउनुभयो ।
एक्स्पोमा विद्यार्थीले बनाएका विज्ञानका सामग्री, आलुबाट बिजुली उत्पादन, स्मार्ट भिलेज, निकोटिन परिक्षण, पानी जहाज, रोवर्ट, केबलकार, डोजर, ट्रलि बस, लाईफाई लाईट लगायत प्रदर्शन गरिने विज्ञान प्रदर्शनी संयोजक अनिल सापकोटाले जानकारी दिनुभयो ।
एक्स्पोमा १९ वटा विद्यालयले रसियन सलाद, चिकेन ब्रगर, साँधेको गुन्द्रुक, सेलरोटी, माछा, चिचर लगायत ५७ थरीका छुट्टाछुट्टै परिकार बनाएर बिक्रिबितरण गर्ने शैक्षिक फुड स्टल संयोजक लक्ष्मी दवाडीले जानकारी दिनुभयो ।
त्यस्तै एक्स्पोमा १९ वटा विद्यालयले कुनैपनि गित नदोहरीने गरि प्रतियोगितात्मक नृत्य प्रदर्शन गर्ने प्रचार प्रसार तथा सांस्कृतिक संयोजक लक्ष्मण कंडेलले जानकारी दिनुभयो ।
पत्रकार सम्मेलनमा उपस्थित प्याब्सन नवलपुरका कार्यबाहक अध्यक्ष दिपक रावतले शिक्षा भनेको व्यवहारको परिवर्तन भएको बताउँदै यो दिर्घकालिन हुनेभएकाले विद्यार्थीहरुको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न यसले सघाउ पुग्ने बताउनुभयो । शैक्षिक क्षेत्रमा संस्थागत विद्यालयले गरेको लगानी र योगदान महत्वपूर्ण रहेको समेत उहाँको भनाई थियो ।
प्याब्सनका केन्द्रीय सदस्य राजेन्द्र पौडेलले एक्स्पोले विद्यालय, विद्यार्थी र अभिभावकबीचको सम्बन्ध विस्तारमा सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाटले एक्स्पोले शैक्षिक चेतनाको स्तर वृद्धिका लागि सघाउने बताउँदै एक्स्पो फरकपन र सबैले गर्व गर्न लायक बन्नुपर्ने बताउनुभयो ।
प्याब्सन गैंडाकोटका सदस्य खेमराज सापकोटा, डिबि गुरुङ लगायतका शिक्षकहरुको उपस्थिती रहेको थियो । सो कार्यक्रम प्याब्सन गैंडाकोटका सचिव विनोद पौडेलले सहजिकरण गर्नुभएको थियो ।
एक्स्पोमा एक विद्यालय एक स्टल अन्तर्गत हरेक विद्यालयको छुट्टाछुट्टै स्टल सहितको प्रदर्शनी हुने छ । कुनैपनि विद्यालयको प्रदर्शन अर्को विद्यालयका प्रदर्शनीसँग नजुध्नेगरि फरक–फरक प्रदर्शनी गरिने बताईएको छ । एक्स्पोमा २० वटा भन्दा वढि स्टल रहने जनाईएको छ । एक्स्पोमा करिब ५ लाख खर्च हुने अनुमान गरिएको छ । एक्स्पो उद्घाटनपूर्व विद्यार्थीहरुको मार्चपास रहने बताईएको छ ।
गैंडाकोटमा ३८ वटा सामुदायिक विद्यालय रहेका छन् भने २७ वटा संस्थागत विद्यालय रहेका छन् । जसमध्ये १३ वटा मावी स्तरका संस्थागत विद्यालय रहेका छन् । गैंडाकोटका संस्थागत विद्यालयमा १२ हजार ५०० को सङ्ख्यामा विद्यार्थी रहेका छन् भने एक हजारको हाराहारीमा शिक्षक कर्मचारी कार्यरत छन् । सामुदायिक भन्दा संस्थागत विद्यालयमा एक हजार बढिको सङ्ख्यामा विद्यार्थी रहेका छन् ।

SHARE