काठमाडौं। सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले नैतिकताको आधारमा राजिनामा दिनपर्ने माग नेकपाका सांसद सुदन राईले गरेका छन्।

सरकारका प्रवक्ता बास्कोटाले अमेरिकाले चाहेमा सुलेमानी बनाईदिने भन्दै कुनै पनि हालतमा प्रवक्ताले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) पास हुने बताएको भन्दै सांसद राईले राजिनामा मागेका हुन्। सरकारले राष्ट्रिय स्वाधिनतामाथि ग्रहण लगाउन खोजेको आरोप सांसद राईले लगाएका छन्।

‘लेन्डुप दोर्जे प्रवृत्ति आत्मसमर्पण प्रवृतिविरुद्ध आपत्ति प्रकट गर्न चाहन्छु र उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ । यो विषयमा समिति र सबैको ध्यानाकर्षण गर्न चाहान्छु,’ सांसद राईले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय समितिमा भएको छलफलका क्रममा आफ्नो धारणा राखेका थिए।

प्रवक्ता बास्कोटाले एमसीसीको विषयमा गत बिहीबार गलत हल्ला फैलाइएको बताउँदै भनेका थिए, ‘अमेरिकाले चाह्यो भने जुनसुकै कुनामा पनि क्षेप्यास्त्र प्रहार गर्न सक्छ । नेपालमा बेस क्याम्प राख्नुपर्ने अवश्यकता पर्दैन । अस्ति इरानमा देख्नुभएन कसलाई हानेको ?’

प्रवक्ताको बोलीले नेकपा भित्र एक किसिमको हलचल आएको छ। राष्ट्रियता र स्वाधिनतामा आँच आउने खालका कुराहरु प्रवक्ताले गर्दा सरकारको नियत माथि शंका शुरु भएको छ।

एमसीसीका विषयमा सत्तारूढ दलभित्र पारित गर्नुपर्ने र गर्न नहुने विचारहरू व्यक्त भइरहेका छन् । जारी नेकपाको केन्द्रीय कमिटी बैठकमा समेत यो विषयले प्रवेश पाएको छ । बैठकमा एमसीसीका विषयमा अध्ययन गर्न समिति गठन गर्नुपर्ने र पार्टीका सबै नेताहरूको धारणा एउटै हुनुपर्ने आवाज उठेको छ ।

प्रधानमन्त्री केपी ओलीले भने हिउँदे अधिवेशनबाटै एमसीसी अनुमोदन गराउनुपर्ने धारणा राख्दै आएका छन् ।

SHARE