काठमाडौं ।  अमेरिकाको मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) विवाद समाधान गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले कार्यदल गठन गर्ने भएको छ । नेकपाले बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

काठमाडौंमा जारी नेकपाको दोस्रो पूर्ण केन्द्रीय कार्यसमिति बैठकमा केन्द्रीय सदस्यले  प्रश्न उठाएसँगै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमसीसी विवाद समाधान लागि समिति गठनको प्रस्ताव गरेका हुन्।   उक्त कार्यदलमा बरिष्ठ नेता खनालसँगै स्थायी कमिटी सदस्य भीम बहादुर रावल र परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली रहने छन् ।

नेकपाभित्र एमसिसीलाई लिएर विवाद छ । प्रधानमन्त्री केपी शर्मा ओलीले एमसीसी छिटो पारित हुनुपर्ने बताउदै आएका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभाको मंगलबारको बैठकलाई सम्बोधन गर्दै एमसीसी छिटो पारित गर्नुपर्ने बताएका थिए ।

यता स्थायी समिति सदस्य तथा पूर्व उपप्रधानमन्त्री भीम बहादुर रावलले नेपाल सरकार र एमसीसीबीच भएको सम्झौताका कतिपय प्रावधानहरु नेपालको हितमा नरहेको भन्दै यसबारेमा दुवै देशले स्पष्ट पार्नुपर्ने बताइरहेका छन् ।

अमेरिकी विदेश मन्त्रालयका सहायक उपमन्त्री डेभिड जे. रेन्जले सन् २०१९ को मे १४ मा र सन् २०१९ को फेब्रअरी १० मा एलिस वेल्सले एमसीसी एशिया प्यासिफिक स्ट्राटेजीकै अंग हो भनेर सार्वजनिक रुपमै बोलेकोले नेपाल सरकारले यसको बारेमा अमेरिकी सरकारसँग जवाफ माग्नुपर्ने उनले बताएका छन् ।

सम्झौताको दफा ७ को १ मा ‘प्रस्तुत सम्झौता लागु भएको हुँदा प्रस्तुत सम्झौता र नेपालको कानून बाझिएमा प्रस्तुत सम्झौता लागु हुनेछ । नेपालको कानून भन्नाले मूल कानून नेपालको संविधान हो ।

अनि कुनै देशसँग गरिएको सम्झौतामा नेपालको कानून बाझिएमा नेपालको कानून नै त्यसको अधिनमा रहने ? यो कुरा हो कि होईन ? अनि यो केही पनि होईन, यसले केही पनि समस्या पारेको छैन् भनेर जसले आफू कुटनीतिज्ञ हो भन्छ, ठूलो ठूलो अर्थशास्त्री र अन्तर्राष्ट्रिय कानूनको ज्ञाता भनेर जसले दाबी गर्नुहुन्छ, म उहाँहरुसँग यसको जवाफ छ, नेपाली जनतालाई यसको जवाफ दिनुपर्छ ’ रावलको प्रश्न छ ।

SHARE