चितवन, माघ ।  चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आर्थिक सहयोग जुटाउन गरिने धनधान्याचल महायज्ञको तयारी तीव्र गतिमा भइरहेको छ ।

माघ १९ गतेदेखि २६ गतेसम्म रंगशाला निर्माणस्थल भरतपुर १५ मा नै महायज्ञ गर्न लागिएकोले पनि यज्ञको तयारीमा चितवनका सबै क्षेत्रका नागरिकहरु टोलटोलबाट तयारीमा जुटेका छन् । प्रमुख वाचक पण्डित दिनबन्धु पोखरेल रहेको महायज्ञबाट ५० करोड उठाउने लक्ष्य राखिएको छ । महायज्ञ उद्घाटन समारोहमा २१ खेलका सबै राष्ट्रिय खेलाडी र खेल पदाधिकारीहरुको उपस्थितिमा महायज्ञ उद्घाटन गराउने योजना छ ।

प्रदेश सांसद विजय सुवेदीको संयोजकत्वमा एक हजार १११ सदस्यीय मूल आयोजक समिति निर्माण गरिएको छ । त्यस्तै महायज्ञ सञ्चालनको लागि ५९ वटा विभिन्न समितिहरु गठन गरिएको छ । यज्ञ सञ्चालनको लागि तयारीको काम धुमधामको साथ भइरहेको संयोजक सुवेदीले बताए । उनले भने, ‘ रंगशाला निर्माणको अभियानमा जुट्न सकैजना सकारात्मक छन् । टोलटोलमा समितिहरु बनाएर मानिसहरु जुटिएका छन् । ’ चितवनका प्रत्येक घरघर र टोलटोलका मानिसहरुलाई यज्ञमा सहभागी गराउने उद्देश्य राखिएको उनले बताए । उनले भने, ‘ चितवनबाट सबै जुटौं, कोही नछुटौँ ।’

महायज्ञ मूल समारोह समितिका महासचिव दिनेशकुमार चुकेले हरेक दिन विभिन्न समितिसँग छलफलको काम भइरहेको बताए । उनले भने, ‘भरतपुरको २९ वटै वडाबाट नागरिकहरुको सहभागिता हुनेछ । देशभरकै नगरपालिकाहरुले पनि आर्थिक सहयोगको आश्वासन पाएका छौं ।’ राष्ट्रिय गौरवको आयोजना भएकोले पनि सोचेअनुसारको सहयोग जुटाउन कठिन नहुने उनले बताए । महासचिव चुकेले भने, ‘अहिले मञ्च व्यवस्थापनको काम भइरहेको छ । एनआरएन, उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर्स अफ कमर्सदेखि हरेक टोल विकास संस्थाहरुले सहयोगको आश्वासन पाएका छौँ ।’ महायज्ञबाट हुने आर्थिक संकलनले रंगशाला निर्माणले थप गति लिने सबैको विश्वास छ ।
रंगशाला निर्माणस्थलमा पछिल्लो समय हरेक दिनजस्तै स्वतस्र्फूत रुपमा आएर सहयोग गर्नेको संख्या बढ्दै गएको छ । दैनिक ३०० जना मजदुरले रंगशालामा काम गरिरहेका छन् । यही गतिमा काम भइरहे अबको चार महिनामा प्याराफिटसहितको रंगशाला तयार हुनेछ ।

SHARE