सगुनपोष्ट / गैंडाकोट,मङ्सिर १६

नेपाल प्रेस युनियन नवलपुर शाखाले हरेक वर्ष प्रदान गर्दै आएको सुर्यभक्त पतना देवि स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार यस वर्ष वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने भएको छ । नेपाल प्रेस युनियन नवलपुर जिल्ला शाखाको आज सम्पन्न बैठकले उक्त पुरस्कार नेपाललाई प्रदान गर्ने निर्णय गरेको युनियनका जिल्ला सचिव एवं प्रवक्ता आशिष रेग्मीले बताएका छ्न ।

२५ हजार रुपैया पुरस्कार राशी, ताम्रपत्र र दोसल्लाले सम्मान गरिने कार्यक्रम यहि मङ्सिर २० गते कावासोतीमा नेपाली काङ्ग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने बताईएको छ ।

सभापति देउवासंगै कार्यक्रममा नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशांक कोईराला लगायतका केन्द्रिय नेता एवं प्रेस युनियनका केन्द्रिय पदाधिकारीको उपस्थिति रहने प्रेस युनियन नवलपुरका सभापती बिरेन्द्र पराजुलीले बताए ।

साहित्य पत्रकारिता बाट पत्रकारिता सुरु गरेका नेपाल पन्चायतकाल बाट नै पत्रकारितामा होमिएका थिए । २०३३ साल बाट गोरखापत्रमा उपसम्पादक को काम गरेका नेपालले पछि २०३७ सालमा देशान्तर पत्रीका आफैले चलाउन सुरु गरेका थिए । गोरखापत्र , हिमालयन टाईम्स , कान्तिपुर नागरिक दैनिक जस्ता पत्रीकाको मुख्य जिम्मेवारीमा रहेर काम गरेका नेपाल पन्चायती कालमा राज्यसत्ताको विरोध गरेको अभियोगमा पाँच पटक गिरफ्तारीमा परेका थिए । नेपालले अहिलेका कांग्रेस सभापति शेरबहादुर देउवासहित रामचन्द्र पौडेल, दमननाथ ढुंगाना, ध्यानगोविन्द रञ्जित, प्रकाशमान सिंह सँगै जेल जीवन बिताएका थिए । पत्रकारिता संगै नेपाली साहित्यमा पनि नेपालको प्रभाव राम्रो रहेको छ । उनको तीन वटा उपन्यास सहित आधा दर्जन साहित्यिक कृति बजारमा आएका छ्न ।
प्रजातन्त्र सेनानी नेपाली काङ्ग्रेसका नेता स्व. सुर्यभक्त अधिकारी र उहाँकी धर्मपत्नी पतना देवि अधिकारीको स्मृतिमा मृत्युपर्यन्त उनका छोरा काङ्ग्रेस नेता मदनभक्त अधिकारीले पुरस्कार स्थापना गरेका हुन् ।

SHARE