गैँडाकोट,  मंसिर । गैंडाकोट एकीकृत बहुउद्देश्यीय सहकारी संस्था लि. गैंडाकोट २५ औँ वर्षमा प्रवेश गरेको छ ।

२५ वर्ष प्रवेशको अवसरमा रजत जयन्ती, सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । मंगलबार संस्थाको मुख्य कार्यालय, गैंडाकोट–८, नवलपुरमा पत्रकार सम्मेलन गरी रजत जयन्तीबारे जानकारी गराइएको हो ।

रजत जयन्तीका अवसरमा संस्थाले संस्थाका विभिन्न डिपोमा नै उपस्थित भएर किसानहरूसँग अन्तरक्रिया, पशु स्वास्थ्यसम्बन्धी अन्तरक्रिया गर्ने संस्थाका अध्यक्ष महादेवी वस्ताकोटीले जानकारी दिनुभयो ।

अध्यक्ष बस्ताकोटीले मंसिर १६ गते साधारण सभा तथा वार्षिक उत्सव कार्यक्रमको समुद्घाटन, स्मारिका विमोचन तथा विभिन्न प्रतिवेदन प्रस्तुत, छलफल तथा सोही दिन नयाँ नेतृत्व चयन गर्ने बताउनुभयो ।

१७ सय घर धुरीको प्रत्यक्ष आर्थिक सम्बन्ध रहेको जनाउँदै संस्थाले बार्षिक करिब ५ लाख लिटर दुध खरिद बिक्रि गर्ने गरेको अध्यक्ष बस्ताकोटीको भनाइ छ । स्थापना कालमा दैनिक २ सय लिटर दुध संकलन गरिरहेको सहकारीले हाल दैनिक १२ सय लिटर दुध संकलन गरिरहेको छ ।

संस्था स्थापनादेखी हालसम्मको अवस्थाबारे जानकारी गराउँदै संस्थाका सचिव खगराज सापकोटाले संस्थाले कृषि तथा दुग्धजन्य पदार्थ कारोबार तथा सुपथ मूल्य पसलमार्फत सदस्यलाई सेवा प्रवाह गर्दै आएको बताउनुभयो ।

संस्थामा ४६ लाख ६० हजार शेयर पुँजी, संस्थाको कुल बचत ८३ लाख १० हजार, ऋण लगानी तर्फ ४३ लाख ३३ हजार रहेको छ भने संस्थाको कुल सम्पत्ति १ करोड ३६ लाख रहेको संस्थाका सचिव खगराज सापकोटाको भनाइ रहेको छ ।

यस सहकारी संस्थाले वि.सं. २०५५ सालमा जिल्ला पशु सेवा कार्यालय नवलपरासीबाट डाले घाँस उत्पादनमा प्रथम पुरस्कार र वि.सं. २०६६ सालमा पाचाँै अन्तर्राष्ट्रिय सहकारी दिवसको उपलक्ष्यमा नेपाल भरिका दुग्ध उत्पादक सहकारी संस्थाहरु मध्ये सबैभन्दा बढी प्याक्ट (एस.एन.एफ.) अर्थात गुणस्तरयुक्त बढी दुध उत्पादन गरि कृषकहरुको आय बृद्घिमा महत्वपूर्ण योगदान पु¥याएवापत राष्ट्रिय दुग्ध विकाश बोर्डबाट प्रथम राष्ट्रिय पुरस्कार प्राप्त गरेको थियो ।

वि.सं. २०५९ साल अषाढ २२ गते सहकारी आन्दोलनमा कृषि बहुमुखी क्षेत्रबाट उल्लेखनीय योगदान गरे बापत राष्ट्रिय सहकारी संघबाट राष्ट्रिय प्रथम पुरस्कार प्राप्त गरि आफूलाई राष्ट्रिय स्तरमा पहिचान गराएको संस्थाका सचिव सापकोटाले बताउनुभयो ।
दुग्धजन्य परिकार उत्पादन तथा प्रशोधनका लागि संस्था आजसम्म क्रियाशील रहेको छ । संस्थाको आफ्नै प्रयास र मौजुदा जनशक्तिबाट आंशिक रुपमा भएपनि उद्योगको अवधारणा अनुरुप दुग्धजन्य परिकारहरु उत्पादन तथा प्रशोधन गरि बजारिकरणका लागि प्रयास गरिएको संस्थाका सचिव सापकोटाको भनाइ छ ।
संस्थाका उपाध्यक्ष काशीनाथ कंडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रममा प्रमुख अतिथि, संस्थापक अध्यक्ष देवीप्रसाद सापकोटाले सहकारीमार्फत दुग्धजन्य पदार्थको कारोबार गर्दै यस क्षेत्रका उपभोक्ता तथा कृषकलाई सहजता प्रदान गरेको बताउनुभयो । कार्यक्रममा संस्थाका पुर्व अध्यक्ष रामलाल पराजुली, प्रेमप्रसाद सापकोटा, सल्लाहकार तिलकप्रसाद पराजुली, केशवप्रसाद सापकोटा, गोपालप्रसाद गौतम, चुडामणी सापकोटा लगायत सञ्चालक, सेयर सदस्यहरुको उपस्थिती रहेको थियो ।

२०५२ सालमा स्थापित गैंडाकोट दुग्ध उत्पादक सहकारी संस्था लि. र २०५४ सालमा स्थापित जनकल्याण दुग्ध उत्पादक सहकारी संस्था लि. संग एकिकरण भई श्री गैंडाकोट एकिकृत बहुउद्देश्यीय सहकारी संस्था लि. कायम भएको थियो । हाल संस्थामा ५८६ जना सेयर सदस्यहरु रहेको व्यवस्थापक चन्द्रमणी पौडेलले जानकारी दिनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष महादेवी वस्ताकोटीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

SHARE