कार्तिक , गैंडाकोट । बुटवल नारायणगढ सडक विस्तार आयोजना निर्माण कार्यका लागि आवश्यक ढुंगा माटो लगायतका निर्माण सामग्रीहरु गैंडाकोट १४ बाट उपलब्ध गराउने विषयमा गैंडाकोट नगर कार्यपालिकाले निर्णय गरेसँगैं बाटो खुलेको छ ।
बुटवल नारायणगढ सडक विस्तार आयोजना निर्माण कार्यको ठेक्का प्राप्त चाईना स्टेट कन्स्ट्रक्सन ईन्जिनियरिङ्ग कर्पोरेशन लि.लाई ढुंगा माटो लगायतका निर्माण सामग्रीहरु गैंडाकोट १४ बाट उपलब्ध गराईने भएको हो । ती सामग्री उपलब्ध गराउने जिम्मा लिएको सुपा निर्माण कम्पनी प्रा.लि. काठमाडौंमार्फत गैंडाकोट नगरपालिका वडा नम्बर १४ साविक कोटथरका युवराज सिंजाली लगायत विभिन्न १० जना व्यक्तिका नाममा दर्ता रहेको विभिन्न १९ कित्ता जग्गाहरुबाट माटो संकलन गरि सडक विस्तार कार्यमा प्रयोग गर्न सक्ने जनाईएको छ ।
वातावरणीय प्रभाव नपर्नेगरि खेतीयोग्य जग्गा बनाउने सन्र्दभमा संकलन गरिएको माटो ढुवानी गरि लैजाने विषयमा गैंडाकोट नगरपालिका र सुपा निर्माण कम्पनी प्रा.लि.विच सम्झौता भईसकेको छ । माटो ढुवानी गरेवापत प्रतिघनमिटर १५ रुपैयाँका दरले नगरपालिकाको कोषमा जम्मा हुनेगरि रकम उपलब्ध गराईने उल्लेख गरिएको छ । व्यक्तिले पाउने रकमका विषयमा भने केही खुलाईएको छैन ।


माटो ढुवानी गर्दा स्थानीय बाटोमा क्षति पुग्न गएमा तत्काल बाटोको मर्मत गरि सुधार गर्ने, धुलो धुँवाजन्य प्रदुषण न्युनिकरणका लागि उपयुक्त उपायहरुको अवलम्बन गर्ने विषयमा कम्पनीले जिम्मा लिनेगरि सम्झौता भएको हो । तोकिएको स्थानबाहेक अन्य स्थानबाट माटो संकलन गर्न नपाईने र सडक आयोजना बाहेक अन्य कार्यका लागि प्रयोग गर्न नपाई उल्लेख गरिएको छ ।
माटो निकाल्ने कार्य सम्पन्न भए पश्चात कम्पनीले पुर्व पश्चिम राजमार्गदेखी माटो संकलन स्थल सम्मको उक्त बाटोलाई कम्तिमा ६ मिटर चौडाईको पिच बाटो बनाउने गरि सम्झौता गरिएको गैंडाकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्यले जानकारी दिनुभयो ।

सो विषयमा बिहिबार अमरापुरी भागरमा आयोजना गरिएको सार्वजनिक सुनुवाईमा गैंडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले वातावरणीय मुल्याङ्कन रिपोर्टमा उल्लेख गरिएको भन्दा बाÞय गतिविधी गर्न नदिईने बताउनुभयो । व्यक्तिले पाउने रकमका विषयमा नगरपालिकाले कुनै चासो नराख्ने बताउँदै राज्यले लिने राजश्वबाट भने नगरपालिका बञ्चित नहुने बताउनुभयो ।
गैंडाकोट नगरपालिकाका नगर उपप्रमुख विष्णुकुमारी कंडेलले वातावरणिय प्रभाव नपर्ने गरि माटो उपलब्ध गराउने विषयमा छलफल पश्चात सम्झौता गरिएको उल्लेख गर्दै ३० डिग्रीको रुपमा गह्रा बनाउने गरि माटो कटान हुने बताउनुभयो । सो कार्यका लागि वातावरणमा कुनै असर पर्न नदिन कम्पनी जिम्मेवार हुने उल्लेख गर्दै व्यक्तिले पाउने रकमका विषयमा चनाखो हुन सचेत गराउनुभयो । माटो कटानका विषयमा नगरपालिकाले अनुगमन गरिरहने उहाँले बताउनुभयो । जग्गा मिलान एवम् माटो संकलन समेतका कार्यहरुको अनुगमन तथा सुपरिवेक्षणका लागि वडा नम्बर १४ का वडा अध्यक्ष कोकीसरा रानामगरको संयोजकत्वमा समित गठन गरिएको छ । वडाअध्यक्ष रानामगरले स्थानीयलाई पनि लाभ हुनेगरि खेतीयोग्य जमिन हुने र विकास निर्माणका कार्य पनि अघि वढ्ने भएपछि छलफल पश्चात अनुमति दिईएको उहाँले बताउनुभयो ।
स्थानीयहरुले भने माटो निकाल्न अनुमति प्रदान गर्ने गैंडाकोट नगरपालिका नै जिम्मेवार हुनुपर्ने बताएका थिए । सम्झौतामा उल्लेख गरिएका बुदाँ अस्पष्ट रहेको उल्लेख गर्दै स्थानीयबासीहरुले क्षति भएपछि क्षतिपुर्ती उपलब्ध गराउने भन्दा पनि क्षति हुन नदिन सचेत गराएका थिए ।
स्थानीय यमलाल कंडेलले प्रदुषण हुन नदिन र विद्यार्थीलाई पर्ने असरका विषयमा नगरपालिका जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने बताउनुभयो ।
शंखदेवी आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जगबहादुर ग्याल्याङ मगरले नजिकमा रहेका विद्यालयमा शैक्षिक प्रभाव नपरोस् भन्ने कुरामा सचेत हुनुपर्ने बताउनुभयो ।
स्थानीय चन्द्रप्रसाद पराजुलीले सडकमा अहिले नै धुलो धुवाँ भईसकेको उल्लेख गर्दै ढुवानी गर्ने साधनको गतिका विषयमा चनाखो हुनुपर्ने बताउनुभयो ।
स्थानीय ईन्दिरा शर्माले सो सडकखण्डमा पर्ने खोलाले कटान गर्ने बताउँदै सो विषयमा सचेत बन्न आग्रह गर्नुभयो । स्थानीयहरुले आफुहरुलाई कुनै असर पर्न नहुने बताउँदै आएका छन् ।

SHARE