सगुन पोष्ट /नवलपुर ।
नवलपुरको वन क्षेत्र फोहोर फाल्ने डम्पिङ साइड बन्दा सर्वसाधारण र जंगली जनावारको स्वास्थ्यमा असर परेको छ । विशेषगरी गैँडाकोटको थुम्सी जंगल क्षेत्र, कावासोतीको खरकट्टा र डण्डाको जंगल क्षेत्र, मध्यबिन्दु, अरुणखोला, दुम्कीबास र दाउन्नेको जंगल क्षेत्र फोहोर फाल्ने डम्पिङ साइट बनेको छ । सवारीमा यात्रा गर्ने यात्रुले यी जंगल क्षेत्र भएर आवतजावत गर्दा दुर्गन्धले हैरान हुने गरेका छन् । यात्रुहरुले जंगल क्षेत्र प्रवेश गरेपछि नसँकिदासम्म नाक थुनेर सास रोकेर यात्रा गर्न बाध्य छन् ।
जंगल क्षेत्रमा रातको समयमा अन्यत्रबाट ट्रक, जिप र ट्याक्टरमा फोहोर ल्याएर फाल्ने गर्दा समस्या उत्पन्न भएको छ । जिल्ला भित्र र बाहिरबाट समेत विभिन्न सेनेटरी पसल , तरकारी र फलफूल पसलका सामग्री डंगुरका डंगुर ल्याएर फाल्ने गरिएको छ । कावासोती नगरपालिकाले समेत वन क्षेत्रमा फोहोर नफाल्न अनुरोध गर्दै जंगल क्षेत्रमा बोर्ड टाँसेको छ तर बोर्ड टाँसेकै मुनि फोहोरको डंगुर थुप्रिएको छ । नगरपालिकाले डण्डा खरकट्टा जंगल क्षेत्रमा फोहोरमैला निषेधित क्षेत्र भनी बोर्ड टाँसेको छ । बोर्डमा सडक र सार्वजनिक स्थानमा कुनै पनि हानिकारक फोहोरमैला थुपारेको वा निस्कासन गरेमा पाँच सय देखि ५० हजार रुपैँयासम्म जरिवाना हुनेछ भनेर समेत लेखिएको छ । तर, उक्त बोर्डमा लेखिएको कुरालाई बेवास्ता गर्दै बोर्ड मुनीनै फोहोर फालिएको देख्न सकिन्छ ।
कावासोती नगरपालिकाका उपप्रमुख प्रेम शंकर मर्द्निया थारुले नगरपालिकाको फोहोरमैला व्यवस्थापनका लागि सरसफाइ अभियान सञ्चालन गर्ने, विभिन्न संघसंस्थासँगको सहकार्यमा डस्बिन वितरण गरिरहेको बताउँछन् । तत्कालका लागि नगरभित्रको फोहोर अस्थायीरुपमा व्यवस्थापन गर्दै आइरहेको र दीर्घकालीरुपमा व्यवस्थापन गर्न आधुनिक डम्पिङ साइड निर्माणको काम अन्तिम अन्तिम चरणमा पुगेको उनको भनाइ छ ।
जंगल क्षेत्रमा फोहोर फाल्ने कामलाई पूर्णरुपमा निरुत्साहित गर्न चुनौती भएको नगर प्रमुख चन्द्रकुमारी पुनले बताइन् । बोर्ड टाँसेर सचेत पार्न खोजिएको भए पनि त्यो पनि खासै प्रभावकारी हुन नसकेको उनको भनाइ छ । रातको समयमा अन्यत्रबाट गाडीमा ल्याएर फोहोर फाल्ने गर्दा रोक्न समस्या भएको पुनले बताइन् । आगामी दिनमा सरोकारवालासँग छलफल गरी जंगल क्षेत्रमा फोहोर फाल्ने काम पूर्णरुपमा निषेध गर्न ठोस कदम चालिने पुनको भनाइ छ ।

SHARE