सगुन पाेष्ट/काठमाडौं : निवर्तमान सभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । बलात्कार अभियोगमा पक्राउ परेका उनी आइतबार साँझ आफ्नै कारमा प्रहरीसँगै गएको जनाइएको ।

उनी रातो निजी नम्बर प्लेटको कारमा ढाका टोपी र हाफ वेस्टकोट र चस्मा लगाएको हुलियामा देखिन्छन् । कारको पछिल्लो सिटमा बसेका उनी तनावको मुडमा देखिएका छन् ।
सभामुख निवासबाट बाहिरिँदै गर्दा महरा अघिल्तिर चाहकसहित अर्का एक जना देखिन्छन् । उनलाई आइतबार महानगरीय प्रहरी वृत्त सिंहदरबारको हिरासतमा राखिएको बताइएको छ ।
जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी लिएसँगै प्रहरीले आइतबार महरालाई पक्राउ गरेको हो ।
प्रहरीले सभामुखको सरकारी निवास बालुवाटारबाटै महरालाई पक्राउ गरेको हो । उनलाई पक्राउ गर्न नयाँ वानेश्वर वृत्तको प्रहरी टोली पुगेको थियो ।
महरामाथि संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार गरेको आरोप छ । उनीविरुद्ध फौजदारी अपराध संहिता अनुसार जबरजस्ती करणी उद्योगमा मुद्दा चल्नेछ ।
आफूमाथि जबर्जस्ती करणी प्रयास भएको भन्दै शुक्रबार रोशनी शाहीले प्रहरीमा उजुरी दिएकी थिइन् । महराले शाहीमाथि बलात्कार गरेको सनसनीपूर्ण समाचार एक अनलाइनले सार्वजनिक गरेको थियो । सो समाचारपछि रोशनीले दवावमा परेर खण्डनको प्रयास समेत गरेकी थिइन् ।
अहिलेलाई महराले आफूलाई लगाइएको कसूर झेल्नेछन्। र, आफूलाई निर्दोष साबित गर्ने मौका पाउनेछन्।

SHARE