गोविन्द रिमाल/ सगुन पोष्ट । गैंडाकोटकी स्रष्टा नानी बिवुले आफ्नो उपन्यास कृति अनुक्रोश बजारमा ल्याएकी छन् । सम्पूर्ण किताब नारायणगढको व्यवस्थापन तथा बी. एन. पुस्तक संसारको प्रकाशनमा सो कृति गैंडाकोटमा विमोचन गरिएको हो ।

शारीरिक रुपमा अशक्त भएपनि कृति प्रकाशन गर्न सफल भएकोमा कृतिकारले कार्यक्रममा बोल्ने वक्ताहरुले धन्यवाद दिएका छन् । मोबाइलमा लेखिएका ३३ हजार शब्दहरुलाई तीन वर्ष लगाएर रचना गरेको जानकारी कृतिकार दिएकी हुन् ।

कार्यक्रमका प्रमुख अतिथि साहित्यकार गोविन्दराज विनोदीले नानी बिवुको कृति आफैंमा उत्कृष्ट रहेको बताउँदै समाजमा अभिभावक भएर पनि अनाथ बालबालिका धेरै रहेको भन्दै बाल मनोभावनाको कदर गर्न कृतिले जोड दिएको बताउनु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि समेत रहनु भएका गैंडाकोट नगरपालिकाका उपप्रमुख विष्णुकुमारी कंडेल सापकोटाले गैंडाकोटमा एक जना स्रष्टाको उदय हुनु आफैंमा खुशीयुक्त भएको बताउँदै नगरपालिकाको तर्फबाट साहित्यलाई सधैं सहयोग पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । टिप्पणीकार शान्ति शर्माले कृति आफैंमा उत्कृष्ट रहेको बताउनु भयो । उहाँले बालमनोविज्ञानमा आधारित सो कृतिले बाल संवेगलाई बुझ्नु पर्नेमा सबैलाई जोड दिएको बताउनुभयो । अर्का टिप्पणीकार तर्कना शर्माले एकै बसाइमा सलल पढेर सकिने कृतिले समाजका उपेक्षित, अनाथ र असहाय बालबालिकाको प्रतिनिधित्व गरेको बताउनुभयो । कार्यक्रममा आयोजकको तर्फबाट स्वागत मन्तव्य लेखक गोविन्द रिमाले गर्नुभएको थियो । सुखान्त कथावस्तुमा आधारित कृति उत्कृष्ट रहेको भन्दै डा. मतिप्रसाद ढकाल, डा एकनारायण पौडेल, एस पी एम कलेजका प्राचार्य दिपेन्द्र पौडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा गैंडाकोट नगरपालिका वडा न. ४ का वडाध्यक्ष कृष्ण न्यौपाने, कार्यपालिका सदस्य संगिता पंण्डित, मैत्री नेपाल गैंडाकोटका अध्यक्ष अमृतकान्त पण्डित, समाजसेवी शंकरनाथ आचार्य लगायत चितवन र नवलपुरका अधिकांश साहित्यकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रम सम्पूर्ण किताबका प्रबन्धक लेखराम सापकोटाको सहजीकरण र बि एन पुस्तक संसार काठमाण्डौका कार्यकारी निर्देशक एवम् सम्पादक सूर्य बी.सी को अध्यक्षतामा सम्पन्न भएको हो । ग्रामीण परिवेश र यथार्थपरक शैलीमा आधारित सो कृतिको एक हजार प्रति प्रकाशनमा ल्याइएको छ ।

SHARE