डोलराज रानाभाट,/ गैडाकोट, भाद्र । गैडाकोट नगरपालिकामा संचालन भएको बहुक्षेत्रीय पोषण कार्यक्रमको ९७ हजार २ सय ५५ रुपैया फ्रिज भएको छ । तर भत्ता वापतको रकम भने सवै खर्च भएको छ । फ्रिज हुने रकममा सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्वन्धी करेशावारी व्यवस्थापन तालिमको ५ हजार २ सय ५०, सामुहिक नर्सरी स्थापना तालिम र व्यवस्थापनको २ हजार ५ रुपैया र ढुवानी सहित टनेल वितरण कार्यक्रम (९० घरधुरी लाभान्वित हुन्थे) को ९० हजार रुपैया खर्च हुन नसकेको हो । समयमै कार्यक्रम संचालन नहुँदा ती रकमहरु फ्रिज भएका हुन् ।

नगरपालिकाका सूचना अधिकारी लिलाधर शर्माका अनुसार कर्मचारीको कमी, तालिम तथा सामाग्री व्यवस्थापनमा प्राविधिकहरु नहुनु लगायतले कार्यक्रम हुन नसकी रकम खर्च नभएको हो । कार्यक्रमको रकम खर्च नहुनु तर भत्ता रकम सवै सकिनुको प्रश्नमा शर्माले कार्यक्रमले दिएको नियमभित्रै रहेर भत्तारकम खर्च भएकाले अन्यथा लिनुपर्ने त्यस्तो केही नभएको बताउनुभयो । बहुक्षेत्रीय पोषण कार्यक्रमकै नियमले भत्ता रकम खर्च भएको उहाँको भनाई थियो । नगरस्तरीय पोषण तथा खाद्य सुरक्षा निर्देशक समितिको बैठक खर्च मात्रै १ लाख ३५ हजार विनियोजन भएको छ भने पोषण स्वयम् सेवकहरुको मासिक निर्वाह भत्ता २ लाख २५ हजार ६ सय रहेको छ । खर्चको फाँटवारी (मलेपफारम नम्वर १३) मा भने पारिश्रमिक कर्मचारी शीर्षकमा १ लाख ४४ हजार, कर्मचारी बैठक भत्तामा १ लाख ३५ हजार र अन्य भत्ता भनेर ८१ हजार ६०० सय रुपैया खर्च भएको देखिएको छ ।

त्रिपक्षीय बजेटबाट संचालन हुने उक्त कार्यक्रमको लागि गत आर्थिक वर्ष २०७५÷०७६ मा कुल २२ लाख ७९ हजार रुपैया बिनियोजन भएको थियो । जसमा नेपाल सरकारबाट ३ लाख २० हजार, युनिसेफबाट १४ लाख ५९ हजार र स्थानीय तहबाट ५ लाख गरी कुल २२ लाख ७९ हजारको बजेट रहेको थियो । जसमा २१ लख ८१ हजार ७ सय ४५ रुपैया खर्च हुन सक्यो भने वाँकी रकम फ्रिज भएको हो। बहुक्षेत्रीय पोषण कार्यक्रमको ४ लाख १६ हजार ४ सय ८६ रुपैया असार महिनामा मात्रै खर्च भएको देखिन्छ ।

असार महिनामा मात्रै आएर खर्च भएका शिर्षकहरुमा कर्मचारी बैठक भत्ताको बार्षिक कुल बजेट १ लाख ३५ हजार, अन्य भत्ताको वार्षिक कुल बजेट ८१ हजार ६ सय मध्ये १८ हजार ८ सय, सीप विकास तथा जनचेतना तालिम तथा गोष्ठी सम्बन्धि खर्चको वार्षिक कुल बजेट १ लाख ५० हजार मध्ये १ लाख १७ हजार ७ सय ५०, कार्यक्रम खर्चको बार्षिक कुल बजेट ४ लाख ४० हजारमध्ये ५० हजार, विविध कार्यक्रम खर्चको ९ लाख १० हजार ६ सय मध्ये ३४ हजार ९ सय ३६, अनुगमन मूल्याङ्कनको बार्षिक कुल बजेट ६० हजार असारमा आएर खर्च भएको छ ।

खर्च भएका कार्यक्रमहरुमा रु. ९३ हजारको जैविक मल तथा विषादी वनाउने तालिम, रु ४५ हजारको तरकारीको वीउ वितरण, ३ वस्तीमा सामुहिक नर्सरी स्थापना तालिम र व्यवस्थापनको १ लाख ४१ हजार ९ सय ९५, एक दिवसीय कुखुरा पालन तालिमको रु. ९० हजार,ढुवानी सहित ९०० सय चल्ला वितरणको रु.२ लाख २५ हजार,खोर निर्माणका लागि नगद अनुदानको १ लाख ३५ हजार, पोषण प्रवर्दनका लागि होर्डिङबोर्ड स्थापनाको ६० हजार,खानेपानी तथा सरसफाई सम्बन्धी १ दिने अनुशिक्षण कार्यक्रमको ६२ हजार, सासु बुहारीबीच पोषणको अन्तरक्रियाको ८० हजार,विद्यालयहरुमा करेशावारी स्थापनाको ६० हजार, २३ विद्यालयमा पोषण सम्वन्धि तालिमको २ लाख १७ हजार ८ सय रुपैया, महिनावारी र पोषणविषयमा रहेको परम्परागत अन्धविश्वास विरुद्धको पैरवीको २ लाख ६० हजार ,परजीवि नियन्त्रण तथा औषधी सहयोगको ४० हजार रुपैया भने पूर्णरुपमा खर्च भएका छन् । गैडाकोट नगरपालिका वडानम्वर ३ को भुजेल गाउँ, वडानम्वर ६ र ७ को सुकुम्वासी बस्ति र बोटे टोल, वडानम्वर १६ र १७ का झरही खोला र नारायणी नदि निकारका सुकुम्बासी वस्तीमा कार्यक्रम संचालन गरिने योजना बनाइएको थियो ।

यति जानकारी थाहा पाउन पनि सूचनाको हक सम्वन्धि ऐन प्रयोग गरेर मात्रै ढिला गरी विवरण उपलब्ध गराइएको थियो ।

                                                                                                साभार ः  िवजय एफएमबाट

SHARE