तिलक सुवेदी/गैंडाकोट । गैँडाकोट नगरपालिकामा २ हजार २ सय १८ जनाले रोजगारीका लागि फर्म भरेका छन् । गैँडाकोट नगरपालिकामा बेरोजगार फारम भरेपनि कामका लागि खासै चासो नदिएको गैंडाकोट नगरपालिका रोजगार सेवा केन्द्रका प्रमुख तारा उपाध्यायले बताउनुभयो ।

फारम भर्ने ३ सय ८० जनाले अपुरो प्रमाणपत्र बुझाएका छन् जहाँ कि नेपाली नागरिकतासमेत राखिएको छैन । फारम भर्ने कति त बेरोजगार नै नरहेको पाइएको छ । बेरोजगार फारम भरेकाहरुले पनि वडाले दिएको काम गर्न नमानेको गैंडाकोट नगरपालिका रोजगार सेवा केन्द्रका प्रमुख तारा उपाध्यायले जानकारी दिनुभयो ।

रोजगार कार्यक्रमको ४० लाख बजेट
सबैलाई अफिसको काम मात्र चाहिएको छ ।

उहाँका अनुसार बेरोजगार फारम भर्नेहरुले बाहिरको काम गर्न मानेका छैनन् भने काम गर्न चाहेका प्रायःले अफिसकै काम खोजेका छन् ।
उहाँले भन्नुभयो – “गैंडाकोट नगरपालिकामा एक त धेरै कमले बेरोजगारी फारम भर्नुभएको छ, फारम भरेकाहरुमा पनि काम गर्ने चाहना छैन ।” उहाँले फारम भरेकाहरुलाई रोजगार उपलब्ध गराउन पनि नगरपालिकामा समस्या रहेको बताउनुभयो । अहिले तत्काल हरेक वडाबाट १० देखि १५ जनाले रोजगारी पाउने उहाँको भनाइ छ ।

गैँडाकोट नगरपालिकामा सबैभन्दा बढी बेरोगारको फारम भर्ने वडा नम्बर १४ का रहेका छन् । वडा नम्बर १४ बाट ५ सय २० जनाले फारम भरेका छन् । वडा नम्बर १ देखि ९ सम्म वडा ३ बाहेक करिब सयको हाराहारी रहेका छन् । वडा नम्बर ३ मा थोरै जनसंख्या भएपनि १ सय ३० जनाले बेरोजगारी फारम बुझाएका छन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत गैंडाकोट नगरपालिकामा पनि यही आर्थिक वर्षमा सक्ने गरी ४० लाख रकम आएको छ । आर्थिक वर्ष सकिन भन्डै ३ सातामात्र बाँकी रहेको छ ।

रोजगार सेवा केन्द्र प्रमुख उपाध्यायका अनुसार वडाले विनियोजित रकम खर्च हुने गरी कुनै योजना नआएको र केन्द्रकै नियमअनुरुप काम गर्दा सबै बजेट खर्च नहुने देखिएको समेत बताउनुभयो । अहिले सरकारले बेरोजगारलाई रोजगारी दिन्छ भन्ने सन्देशमात्र दिने काम भएको केन्द्र प्रमुख उपाध्यायले बताउनुभयो ।

रोजगार पाउने व्यक्तिले काम गरे बापत दिनको ५ सय २५ रुपैयाँ पाउने छन् । उनीहरुले तत्काल नगरमा देखिएका समस्या भैपरी आउने कामलगायत आफ्ना वडामा सडक मर्मत गर्ने, सरसफाइ, वृक्षरोपणलगायत तोकिएका काम गर्नुपर्ने छ ।

SHARE