श्रीधर उपाध्याय,३१ वैशाख,गैँडाकोट । गैँडाकोट नगरपालिका क्षेत्रका सरकारी स्वास्थ्य संस्थाहरुमा यस वर्ष ३३ हजारभन्दा बढीले स्वास्थ्य उपचार लिइसकेका छन् ।

स्वास्थ्य तथा सामाजिक विकास शाखाको तथ्यांकअनुसार फागुन मसान्तसम्ममा ३३ हजार ८ सय १८ जनाले स्वास्थ्य उपचार गराएको देखिन्छ । फागुनयता चैत्र–वैशाखको तथ्यांक स्पष्ट नभएपनि करिब ४० हजारभन्दा बढीले स्वास्थ्य उपचार लिएको अनुमान गर्न सकिन्छ ।

फागुन मसान्तसम्म उपचार लिएकामध्ये ज्वरोसँग सम्बन्धित रोगहरुबाट नगरबासी बढी संक्रमणमा परेको देखिन्छ । यस आर्थिक वर्षको फागुन मसान्तसम्म २९ प्रतिशत बिरामीमा ज्वरोसँग सम्बन्धित रोगहरुबाट प्रभावित भएको देखियो । यसपछि श्वासप्रश्वासजन्य रोगहरुबाट करिब १० प्रतिशत मानिस प्रभावित भएका छन् ।

अघिल्लो वर्षको तुलनामा यसवर्ष श्वासप्रश्वासको समस्यामा कमी आएको स्वास्थ्य तथा सामाजिक विकास शाखाका संयोजक इन्द्रराज शर्माले जानकारी दिनुभयो ।

स्वास्थ्य शाखाको त्रियासी प्रतिशत कार्यक्रम सम्पन्न

गँैडाकोट नगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास शाखाले ८३ प्रतिशत वार्षिक कार्यक्रम सम्पन्न गरेको छ । स्वास्थ्य तथा सामाजिक विकास शाखाका संयोजक इन्द्रराज शर्माका अनुसार यस आर्थिक वर्षमा ६५ वटा कार्यक्रम सम्पन्न भएका हुन् ।

यस आर्थिक वर्षका लागि ७८ वटा कार्यक्रम तय गरिएका थिए । जसमध्ये १० वटा कार्यक्रम हुन बाँकी रहेका छन् । ३ वटा कार्यक्रम जारी रहेका छन् । नगरको र सशर्त अनुदानतर्फका गरेर विविध कार्यक्रम सम्पन्न भएको शाखा प्रमुख सापकोटाले बताउनुभयो ।
निर्माणतर्फ यसवर्ष रतनपुरमा बर्थिङ सेन्टर निर्माणका लागि प्रक्रिया सुरु गरिएको छ । स्वास्थ्य शाखाबाट पाँच लाख विनियोजन गरी काम गरिएको शाखा प्रमुख सापकोटाले बताउनुभयो ।

यसैगरी अमरापुरी स्वास्थ्य चौको ट्रस्ट निर्माण जारी, अमरापुरी स्वास्थ्य चौकी बर्थिङ सेन्टरका लागि आवश्यक सामग्री उपलब्ध, गैँडाकोट ४ मा पाठेघरको स्क्रिनिङ, थाइराइड शिविर गरिएको छ । स्वास्थ्य शाखाले कार्यालयको आन्तरिक व्यवस्थापनतर्फ पनि पाँचवटै स्वास्थ्य शाखामा विद्युतीय हाजिरी सुरु गरिसकेको छ भने स्वास्थ्य चौकीका प्रयोगशालामा सुधार गरिएको छ । यसैगरी सम्पूर्ण स्वास्थ्य चौकीमा नेबुलाइजर (बाफदिने मेसिन) प्रदान गरिएको छ ।

यसैगरी पितौँजी स्वास्थ्य चौकीलाई भिडियो एक्सरे मेसिन उपलब्ध गराई गुणस्तरमा जोड दिइएको शाखा संयोजकको भनाइ रहेको छ ।
यसैवर्ष सरुवा तथा महामारी रोग नियन्त्रणका लागि रेपिड रेस्पोन्स टिम गठन गरी काम अघि बढाइएको छ । शाखाका संयोजकका अनुसार सुत्केरीलाई तीनहजार पोषण खर्च दिने महŒवपूर्ण निर्णय भई कार्यान्वयमा ल्याइएको छ । गैँडाकोट ७ र १३ मा यसवर्ष खोपकेन्द्र थप गरिएको छ ।  यसैगरी पाँचवटै स्वास्थ्य केन्द्रहरुमा मोबाइल प्रकृतिको स्तनपान कक्षको व्यवस्था गरिएको छ ।
यसैवर्ष कुष्ठरोग पत्ता लगाउन गैँडाकोट हर्कपुर कार्यालयमा चर्मरोग शिविर गरिएको थियो । शिविरबाट दुई जना कुष्ठरोगी फेला परेको र उनिहरुको उपचार जारी रहेको शाखा संयोजक शर्माले बताउनुभयो ।

यसैगरी यसवर्ष गरिएको अर्को शिविर औँलो तथा डेंगो नियन्त्रणसम्बन्धी लामखुट्टे खोजी र नियन्त्रण कार्यक्रमपश्चात् ६ जनामा औलो र १ जनामा डेंगोको संक्रमण देखिएको थियो । यसैगरी पाँचवर्ष मुनिका बच्चाहरुको तौल लिने र कुपोषणको पहिचान गर्ने अभियान नै चलाइएको थियो ।

यस कार्यक्रमले पिताँैजी घाट स्वास्थ्य चौकीको तथ्यांकमा २९९ जनामा १८ जनामा कुपोषण देखिएको थियो । अमरापुरी स्वास्थ्य चौकीको तथ्यांकअनुसार ३०४ जनामा १८ जनामा कुपोषणको अवस्था देखिएको छ । यसैगरी नगरभरिको अवस्थामा ५० जनाभन्दा बढीमा अझै पनि क्षयरोगको संक्रमण रहेको शाखा प्रमुख शर्माले बताउनुभयो । यसका लागि क्षयरोग मैत्री उपचार केन्द्र स्थापना हुने र यो २४ घण्टे स्वास्थ्य संस्थामा रहनेछ ।

गँैडाकोट नगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास शाखाका प्रमुख इन्द्रराज शर्माका अनुसार जनचाहना एउटा र कार्यक्रम अरु नै भएका कारण नगरबासीको पहिलो रोजाइमा सरकारी स्वास्थ्य संस्था पर्न नसकेको बताउनुभयो । नगरबासीले बालबालिकाका लागि, वृद्धवृद्धाका लागि, सुगर, प्रेसर र थाइराइड जस्ता बिरामीका लागि निःशुल्क औषधीको व्यवस्था हुनुपर्ने बताएको शर्माले बताउनुभयो । ३५ थरि निःशुल्क औषधी बाहेक बालबालिका र वृद्धवृद्धाका लागि थप औषधि निःशुल्क हुनुपर्ने माग गरेका हुन् । साभार विजय खबरबाट

SHARE