रामहरि शर्मा
साहित्यका हरेक विधा विविध जातजाति, भाषाभाषी, संस्कृति, सभ्यता र रहनसहनको आफ्नै पहिचान हो ।  विविधता बीचको एकता हो । यहाँ हरेक जातजातिको आफ्नै मौलिक भाषा छ । मौलिक पहिचान छ । जसलाई साहित्यले नै जीवन्तता प्रदान गरेको हुन्छ । भनिन्छ “साहित्य समाजको ऐना हो ।” यो जीवन्त अभिव्यक्तिलाई सम्मान गरेकै कारण दोस्रो गैंडाकोट महोत्सवको सुरुवाती चरणमा नै स्मारिका प्रकाशनको सङ्कल्प भयो । खासगरी गैँडाकोट नगरभित्र रहेका समग्र उद्योग व्यवसाय तथा आयआर्जनका गतिविधिको वस्तुगत आँकडा प्रस्तुत गर्ने लक्ष्य रहेको स्मारिकामा प्रस्तुत शीर्षक “साहित्यिक नगरी गैँडाकोट”ले प्राथमिकता पाउनु नै वास्तवमा गैँडाकोटले साहित्यिक नगरीका रूपमा आत्मबोध गर्ने आधार हो । अवस्थितिका हिसाबले उत्तरी सीमाको करिबआधा हिस्सा र पूर्वमा पवित्र कृष्णागण्डकी, आदिप्रयागका नामले चिनिने देवताहरूको तपोभूमि देवघाटधाम, दक्षिणमा नारायणीको सुमधुर कलकल र पश्चिममा नवलपुर क्षेत्रकै उच्च आदर्श देवचुली र वरचुलीका वक्षस्थलमा रहेको देवचुली नगरपालिका भित्र १६० वर्ग कि. मि. क्षेत्रमा फैलिएको यो नगरमा वातावरणको हिसाबले पहाडतराई, गाउँशहर सबैको अनुभूति गर्न पाइन्छ ।

कुल भूभागको ६१ प्रतिशत जङ्गल कायम रहेको र नेपालकै करिब मध्यस्थलमा रहेको यो स्वास्थ्यवर्धक नगरीमा समुद्री सतहबाट १६५ मिटरमा रहेको  पूर्वपश्चिम राजमार्गको सुगमतादेखि १५०० मिटरको उचाइमा रहेको दुर्गमताको आभास पनि यहीँ  नै गर्न पाइन्छ । ऐतिहासिक दृष्टिकोणले विश्लेषण गर्दा पनि नेपालको गौरवमय इतिहास बोकेको मुकुन्दसेन राजाका  पालाको दरबार तथा कैलाश आश्रम (सिक्रौली) मन्दिरको भग्नावशेषदेखि अहिलेका पुस्ताको चाख, चासो र सहभागितामा निर्मित प्रसिद्ध धार्मिक पर्यटनको गन्तव्य मौलाकाली मन्दिर, विशिष्ट शैलीको लक्ष्मीनृसिंह मन्दिर, नारायणी तटमा निर्मित राम मन्दिर, सम्पूर्ण आमाहरूकै व्यवस्थापनमा जीवन्तता पाएको गोपेश्वर मन्दिर, वडा नं. ८को कालिका मन्दिर, वडा नं. ७को  हरिहर मन्दिरलगायत हरेक वडा वा टोलमा स्थापित, संरक्षित र पूजित मन्दिरहरूले आआफ्नै संस्कार, सभ्यता र पहिचान बोकेका छन् । जसको समग्र अध्ययनमा जुट्ने हो भने यो नगर क्षेत्रको साहित्यिक उचाइ सर्वथा उच्चकोटिमा रहेको अनुभूति हुन्छ । साहित्यिक उत्थानका लागि पहिलो अभ्यासस्थल भनेको घरछिमेकको वातावरणका अतिरिक्त स्कुल वा कलेज नै हुन् । स्थापित कवि, कलाकार वा कुनै न कुनै विधामा दखल राख्ने सफल चरित्रको जीवन केलाउने हो भने अधिकांशमा स्कुलको शुक्रवासरीय अतिरिक्त क्रियाकलापको प्रभाव फेलापर्दछ । विद्यार्थी जीवनको सक्रिय सहभागितामा भएका प्रतियोगिताहरूले नै प्रतिभाहरूलाई निखार दिने र माथि उठाउने काम गरेको देखिन्छ ।

यो सन्दर्भ गैँडाकोट नगरको अभ्यासमा कुनै कमी छैन । आँकडागत रूपमा भन्ने हो भने यस क्षेत्रमा सरकारी र निजीस्तरमा सञ्चालनमा रहेका पूर्व प्राथमिक (मन्टेस्वरी) स्कुलहरूको सङ्ख्या७ छ भने प्राथमिक स्कुलहरू ११ छन् । नगरका सबै वडाहरूमा गरेर निमावि १८ र मावि ८ सङ्ख्यामा रहेका छन् । हिजोसम्म उच्च माविमा गनिए पनि वर्तमान शैक्षिक व्यवस्थापनका हिसाबमा मावि नै गनिने हुँदा अहिले समग्र माविको सङ्ख्या १९ रहेको बुझिन्छ । देशमा उच्च व्यावसायिक तथा कलेज शिक्षाको दीप बाल्ने महाविद्यालयहरूको पनि बाक्लै उपस्थिति यस नगरमा छ । त्रि.वि., ने.सं.वि., पो.वि.र सिटिभिटी अन्तर्गतका आङ्गिक र सम्बन्धनप्राप्त १० वटा कलेजहरू क्रियाशील छन् । यी सबै शैक्षिक संस्थाको कुल योग ६७ हुन आउँछ । यिनीहरूले महिनाको एउटामात्र अतिरिक्त क्रियाकलाप आयोजना गरे भने पनि वर्षमा ८०४ वटा कार्यक्रम चल्छन् र वर्षको एउटामात्र विशेष आकर्षक प्रतियोगिता सञ्चालन गरेर पुरस्कृत  गरियो भने प्रथम, द्वितीय र तृतीय गर्दा २०१ जना नवप्रतिभाहरू लाभान्वित हुन सक्दछन् । यो सम्भाव्यता र अवसर गैडाकोट नगरीको साहित्यिक अभियानका लागि यथेष्ट ऊर्जा बन्न सक्दछ । नगरको साहित्यिक उचाइको प्रक्षेपण गर्नुपर्दा उसको वक्षस्थलभित्र रहेर विभिन्न विधामा कलम चलाउनेहरू र ती सिर्जनात्मक विधाका सन्दर्भमा जहाँकहीँ बसेर टिप्पणी एवं समीक्षा गर्नेहरूका बारेमा खोजी हुनु आवश्यक हुन्छ । साँचो भन्नुपर्दा छोटो अवधि र अवसरमा यो विषयलाई न्याय दिन सकिँदैन ।

उद्योग वाणिज्य संघ गैँडाकोटको प्रथम महोत्सवमा सम्पादित स्मारिकामा प्रा. डा. नारायण प्रसाद खनालज्यूले गर्नुभएको मिहिनेतको सम्मान गर्दै उहाँकै अध्ययन र आँकडालाई विश्लेषण गरेर केही आधार प्रस्तुत गर्ने जमर्काे  गरेको छु । जसअनुसार गैँडाकोट नगरभित्र रहेर पुस्तकाकार कृति प्रकाशन गर्ने कवि लेखकहरूको सङ्ख्या ४६ भन्दा बढी रहेको देखिन्छ भने उनीहरूबाट प्रकाशित कृतिको सङ्ख्या १६६ भन्दा बढी देखिन्छ । विधागत रूपमा भन्नुपर्दा तीज गीत, भजन, निबन्ध, अनुवाद, जीवनी, कथा, गद्यरपद्य कविता, नाटक, गीत, गजल, हाइकु, रोइला, मुक्तक, समालोचना, समीक्षा, वंशावली, शोककाव्यर स्मारिकालगायत धर्म, संस्कृति, परम्पराजनित सांस्कारिक सामग्री तथा जीवनोपयोगी विचार विश्लेषणसमेतको प्रस्तुति समाविष्ट छन् । यिनै प्रकाशित कृतिहरूउपर सोध, समीक्षा र समालोचना गर्ने अध्येताहरूको उपस्थिति पनि ४० भन्दा बढी रहेको छ । भाषागत उपस्थितिमा नेपाली भाषाका अतिरिक्त अङ्ग्रेजी, संस्कृत र हिन्दी  भाषामा समेतमा सिर्जना पस्किएका छन् । गैंडाकोटको साहित्यिक जागरणका लागि यस क्षेत्रमा रहेर अथक अभियान चलाउने स्थापित कवि, कलाकार, व्यक्तित्व, संघसंथा र व्यक्तिगत वा सामूहिक प्रयासले यस नगरीका लागि मात्र नभई सिङ्गो नवलपरासी आसपास र चितवनलाई समेत सिञ्चन गरेको छ । यस सन्दर्भमा २०४७ साल देखि  ‘त्रिवेणी साहित्य परिषद्’को भूमिका अतुलनीय छ । यस संस्थाले आजका दिनसम्ममा गोविन्दराज विनोदीको कविता सङ्ग्रह मेरो वर्तमानताबाट सुरु गरेको प्रकाशनयात्रा स्वर्गीय रामनाथ खनालका पाण्डु र प्रजातन्त्रोदय महाकाव्य हुँदै स्मृति, समीक्षा,  गीत, गजल र कविता सङ्ग्रहसमेत गरेर ७८ थान पुस्तक प्रकाशित गर्न सफल भएको छ ।

प्रा. डा. नारायण कुँवरकी धर्मपत्नी साधना कुँवरले आफ्ना पिताका नाउँमा स्थापना गरेको कृष्णजङ्ग–डम्मरजङ्ग पुरस्कार सञ्चालनको जिम्मेवारी वहन गर्दै यस परिषद्ले नगद पुरस्कार समेत प्रदान गर्दै आएको छ । जसबाट कलासाहित्यमा लागेका ११ जना स्रष्टाहरू पुरस्कृत र सम्मानित भएका छन् । साङ्गठनिक स्वरूप सापेक्षित रूपमा ताजगी हुन नसके पनि त्रिवेणी साहित्य परिषद्लाई वर्तमानसम्म जीवन्त राख्न सफल रहनुहुने गुरु गोविन्दराज विनोदीको अथक प्रयासलाई यस सन्दर्भमा कदापि बिर्सन सकिँदैन । यसै अभियानको प्रभाव र प्रेरणाबाट उद्वेलित भएर २०५७ देखि गैँडाकोटका जागरुक स्रष्टा लेखराम सापकोटा र भीम सापकोटाद्वारा प्रकाशित हुँदै आएको सहयात्री लघु साहित्यिक पत्रिकाले आफ्नो २९औँ अंकको यात्रा तय गरिसकेको छ । त्यस गरी लेखराम सापकोटा र सूर्यप्रकाश भुषालको संयुक्त अभियानकारूपमा २०५८ सालदेखि प्रकाशनमा आएको अनामिका लघु साहित्यिक पत्रिका ३२ अंकसम्म प्रकाशित भइसकेको छ । यसैगरी गैँडाकोटकै माटोमा रहेर अर्का जुझारु स्रष्टा  सुजन अधिकारीले ०५८ सालदेखि  हवाई  पत्रिकामार्फत  सुरु  गरेको  साहित्यिक  अभियानले ०६२ सालमा आदर्श साहित्य समाजका नाममा संस्थापित भएर आदर्श राष्ट्रिय  विविध प्रकाशन गर्ने  गरेको  छ । नेपाल र कतार दुबै ठाउँबाट प्रकाशित हुने उक्त पत्रिकाले तीसौँ अङ्कसम्मको यात्रा  पूरा गरिसकेको छ।यसै संस्थाद्वारा आदर्श साहित्य सम्मान र आदर्श वर्ष सम्मान शीर्षकमा आधा दर्जनभन्दा बढी कलासाहित्यसँग सम्बन्धित स्रष्टाहरू पुरस्कृत र सम्मानित भइसकेका छन् ।

यसै सन्दर्भमा सुनिता रेग्मीले आफ्ना स्व.पति नरेन्द्र रेग्मीकोसंस्मरणमा रु. १,००,०००।– को अक्षयकोष राखी स्थापना गरेको नरेन्द्र–सुनिता साहित्य प्रतिष्ठानले स्थापना वर्षमा गीतकार प्रेमविनोद नन्दन र अर्काे वर्ष छन्देली कवि गोविन्दराज विनोदीलाई जनही रू.१०,०००।–रको नगद पुरस्कारसहित सम्मान गरेको र तत्पश्चात् भने त्यस प्रतिष्ठानको कुनै गतिविधि नभएको अवगत हुन आएको छ । साहित्य र समाजको सम्बन्धअन्योन्याश्रित हुन्छ । समाजमा सञ्चालित क्रियाकलापको पदलालित्यले साहित्यिक वैभवलाई उजागर गर्दछ भने उही समाजमा सञ्चालित साहित्य, कला र संस्कृतिका विधागत कार्यक्रमका प्रभावले समाज रूपान्तरित हुन्छ । जसको नमुनाका रूपमा र रा.ल. मा.वि. पितौँजीकी कक्षा १० मा अध्ययनरत छात्राको तेस्रो त्रैमासिक परीक्षाको उत्तर पुस्तिकाबाट उद्धृत “नेपाल चार जात छत्तीस वर्णका नामले चिनिने एक बहुसांस्कृतिक बहुभाषिक अनि बहुजातीय मुलुक हो । यहाँ  थुप्रै जातजातिरूपी पुष्पहरू पुष्पित र पल्लवित छन् । अनेकतामा एकताको माला पहिरिँदै  नेपालले विश्वसामु आफ्नो मौलिक संस्कृति झल्काएको छ”भन्ने अनुच्छेदले प्रक्षेपण गर्दछ । हुन त यो स्तरको अभ्यास गराउन स्कुलको वातावरण र विषयशिक्षण गराउने शिक्षकको योगदान पनि सम्मानित छ । यस क्षेत्रमा मौलाकालिका मन्दिर लगायतका अधिकांश  मन्दिरहरूका नाउँमा रहेका आमा समूह र भजन कीर्तन टोलीहरूले सञ्चालन गरेका अभ्यासले पनि गैँडाकोट नगरीको साहित्यिक र सांस्कृतिक  माहोललाई ऊर्जा प्रदान गरेको छ । यी सबै परिवेश र परिस्थितिलाई जीवन्तता दिनका लागि विजय एफ एम १०१.६ को प्रत्यक्ष वा परोक्ष पु¥याउने योगदान आफैमा मार्गदर्शक र प्रेरक बनेको छ ।

यस संस्थाका नियमित कार्यक्रममा रहेका गजल मञ्च, काव्य सुधा, कृति सौरभ, शब्द शिविर, सम्झिदिए पुग्छ, मनोकथालगायतले यो गैँडाकोट नगरीलाई मात्र नभएर वरपरका एफ एमको तरङ्गले भेट्ने क्षेत्रसमेतलाई साहित्यिक खुराक प्रदान गर्दै आएको छ । अब यही भूमिकालाई थप मलजल गर्न रेडियो सङ्केतले पनि आफ्ना कार्यक्रमहरू प्रसारण गर्दै जाने शुभ सङ्केत अवश्यम्भावी छ । भौतिक रूपमा नाना, खाना र छाना जीवनका मौलिक आधार भए पनि जीवनलाई समयसापेक्ष उर्वर र आनन्दित तुल्याउनका लागि कला, संस्कृति र साहित्यको साथ र सहयोग अनिवार्य छ । यसैकारण हाम्रा गाउँघरमा सुरिलो भाखामा लोकगीत गाउने र खैंजेडी मादलका धुनमा रम्ने अभ्यासमा हाम्रा दिनहरू सहर्ष बितिरहेका हुन्छन् । जुन अभ्यास खारिँदै र माझिँदै जाँदा सशक्त प्रतिभाको व्युत्पत्ति हुन्छ । यो अवसरको सम्भावना गैडाकोट नगर क्षेत्रमा उर्वर छ । लोकदोहोरीको अभ्यास र सम्भावना प्रचुर छ । आफ्नो जीवनआधार नै साङ्गीतिक क्षेत्रमा समर्पण गर्ने गायन क्षेत्रमा विशिष्टितर्फ उन्मुख कलाकारहरू नै यस नगरीमा दर्जनभन्दा बढी छन् ।

नाट्यविधामा लागेर लेखन र मञ्चन समेतमा दखल भएका गोपी सापकोटा र उनको नाट्य समूह पनि यसै नगरका सम्पत्ति हुन् भने कला क्षेत्रमा गोविन्दराज विनोदी, भीमप्रसाद शर्मा, नवीनभक्त अधिकारी, सुवर्ण प्रधान, दिलिप घिमिरेलगायतको उपस्थिति यही नगरमा छ । अध्ययन,अवलोकन र विश्लेषण कहिल्यै पूर्ण हुँदैन । समयको गतिसँगै समाज र सभ्यता परिवर्तन भइरहन्छ । त्यसैले मैले जे देखेँ वा जे लेखेँ त्यो नै पूर्ण छ भन्नु त्यति सान्दर्भिक नहोला। त्यसमा पनि साहित्य र सन्दर्भको विश्लेषणात्मक अध्ययनलाई सीमाङ्कित गर्न  हुँदै हुँदैन । छोटो सुविधा  र अवसरमा बृहत्तर विषयवस्तुको लेखाजोखाले पूर्णता पाउने कुरै आउँदैन। अहिले यो कलम चल्दै गर्दा अरु सयौँ कलमहरू दौडिरहेका हुन सक्छन् । सयाँै कला र गला प्रस्फुटित भइरहेका हुन सक्छन् । भोलिका दिनमा तिनीहरूका बिम्बप्रतिबिम्बहरूलाई पनि यसै सन्दर्भमा समावेश गर्नुपर्ने हुन्छ तर पनि यस स्तम्भमा समेटिएका सन्दर्भ र आँकडाहरूको ओज निरर्थक हुन्छ भन्नेचाहिँ होइन । मैले यो  विहङ्गम विषयको सूक्ष्म प्रस्तुतिमा यस अघिका अध्येताहरूको अध्ययन र प्रस्तुतिको ठूलो सहयोग लिएको छु । प्रथम गैंडाकोट महोत्सव  स्मारिका–२०७१ मा डा. मतिप्रसाद ढकालले निकै ठूलो मिहिनेत गरेर तयार पार्नुभएको गैंडाकोट नगरीका शैक्षिक संस्थाहरूको परिचयात्मक आँकडाले मलाई धेरै सहयोग पु¥याएको छ । जसका निमित्त वहाँलाई हृदयदेखि नै धन्यवाद  अर्पण गर्दछु ।

त्यसैगरी प्रा. डा. नारायणप्रसाद खनालका साथै साहित्यिक उन्नयनमा सक्रिय रहेका भाइहरू लेखाराम सापकोटा, सूर्यप्रकाश भुषाल, सुजन अधिकारीलगायतका सहयोगी हातहरूलाई हार्दिक धन्यवाद अर्पण गर्दछु । समग्रमा गैँडाकोट नगर हिजोदेखि नै साहित्य, कला र संस्कृतिको उर्वर भूमि हो । यहाँ साहित्यिक अभ्यासको सिलसिला हिजो जुन रूपमा क्रियाशील र सम्मानित रह्यो, आजका सर्जकहरूका माझमा उति नै प्रिय र वन्दनीय बनिरहेको छ । आशा एवं भरोसा छ भोलिका सर्जक कलाकारहरूमा यो निरन्तरता कायम रहने छ । गैँडाकोट साहित्यिक नगरी थियो, छ र रहिरहनेछभन्ने कुरामा कुनै द्विविधा छैन । मौलाकाली तथा काली गङ्गाको शीतलो जल हरिया शैल श्रेणी छन् भविष्य छ समुज्वल विदेशी पाहुना डाक्न राख्न सक्नेछ यो अब गर्न स्वागत जुट्दै छ गैँडाकोट महोत्सव ।( गैडाकोट–११ निवासी लेखक शर्मा, व्यवस्थापन विषयका प्राध्यापक तथा सुप्रसिद्ध साहित्यकार हुनुहुन्छ ।)

SHARE