गोबिन्द लामिछाने /गैंडाकोट, बैशाख ११।

बैंक प्लसको रुपमा आफ्नो संस्थालाई लिएको बिकु साकोसले वित्तिय साक्षरता, स्वास्थ्य साक्षरता र प्रविधि साक्षरतालाई अवलम्बन गर्दै आएको छ।समय र सदस्यको माग संगै विकू बचत तथा ऋण सहकारी संस्था लिमिटेडलेआज देखि थप प्रविधियुक्त सेवाको शुभारम्भ गरेको हो।

सहकारी इतिहासमा नै पहिलोपटक मोबाइल बैङ्किङ र ATM सेवा सुरुवात गरी इतिहास रचेको बिकुले अर्को इतिहास रच्दै बुधबार क्यु आर कोड शुभारम्भ गरेको हो । नगद रहित सदस्य निर्माण गर्ने अभियानमा छिटो सुबिधा दिने यो प्रबिधिबाट विकूमा सदस्य रहेका व्यवसायीक तथा प्रतिष्ठानहरुबाट वस्तु तथा सेवा खरिद गर्दा यसै कोडको माध्यमबाट सम्बन्धीत व्यक्तिको खातामा रकम जम्मा हुने र नगद रकम तिर्नुनपर्ने संस्थाका प्रमुख अधिकृत माधव पौडेलले जानकारी दिनुभयो । सोही अवसरमा विकूले नियमित प्रदान गर्दै आईरहेको विकू दिर्घकालिन छात्रवृति वितरण गरेको छ ।

विजय विकास स्रोत केन्द्रको सभाहलमा भएको कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि मध्यका मध्यविन्दु नगरपालिकाका नगर प्रमुख चन्द्रबहादुर रानाले विज्ञान र प्रविधिलाई अवलम्बन गर्नुपर्नेमा जोड दिदैं त्यसलाई विकूले साकार पार्ने कार्य गरेको बताउनुभयो । स्वस्थ जिवन रहे सवै कुरा प्राप्त हुने जनाउँदै उहाँले विकू सहकारीको “हाम्रो लक्ष्य खुसी एवम् स्वस्थ सदस्य” नाराको प्रशंसा गर्नुभएको थियो । साथै उहाँले “उडि छुनु चन्द्र एक “भन्ने उक्तिलाई विकूले सार्थक गरेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै अर्का प्रमुख अतिथि देवचुली नगरपालिकाका नगर प्रमुख पूर्णकुमार श्रेष्ठले सहकारी नाफामूलक भन्दापनि सेवामुखी हुनुपर्ने बताउँदै त्यो विकूले पुरा गरेको बताउनुभयो । श्रेष्ठले कृषि र व्यवसायमा वढि भन्दा वढि लगानी गरि सदस्यलाई आत्मनिर्भर गराउनुपर्नेमा पनि जोड दिनुभएको थियो । अहिलेको आवश्यकता भनेको नैतिक शिक्षा रहेको हुदाँ देवचुली नगरपालिकामा नैतिक र सामाजिक शिक्षा अनिवार्य नेपाली भाषामा शुरु गरेको जनाउँदै उहाँले शिक्षामा भित्रिएको विकृति रोक्न अभिभावकलाई आग्रह समेत गर्नुभएको थियोे । संस्थाका अध्यक्ष केशवप्रसाद सापकोटाले कठोर तपस्या र मेहनतले सफलता प्राप्त हुने जनाउँदै विद्यार्थीलाई मेहनत र सहयोगी भावनको विकास गर्न आग्रह गर्दै विकूको हालको स्थान सोही तपस्या र मेहनतले बनेको बताउनुभयो । अध्यक्ष सापकोटाले संस्थाले हाल ४३ वटा गैरबित्तीय सेवा मार्फत सदस्य हितका कार्यक्रम ल्याएको जनाउँदै आगामी दिनमा कल सेन्टर लगायतका नयाँ कार्यक्रम तय गरिएको बताउनुभयो ।

कार्यक्रममा स्वागत गर्दै सञ्चालक सदस्य यमुनाथ आचार्यले संस्थाले २०६६ सालदेखी निरन्तर छात्रविृत प्रदान गर्दै आईरहेको र हालसम्म ८२ जनाले यो छात्रवृतिको सहयोगमा एसएलसी उतिर्ण गरिसकेका बताउनुभयो ।संस्थाले वार्षिक १० लाख बराबरको छात्रवृति प्रदान गर्दै आईरहेको समेत आचार्यले बताउनुभयो । कार्यक्रममा विकू साकोसका संस्थापक अध्यक्ष खेमराज सापकोटा, विजय सामुदायिक शिक्षा सहकारी संस्था लिमिटेडका अध्यक्ष टिकाराम कंडेल लगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, अभिभावक, विकूका सेवा केन्द्रका संयोजक, विभिन्न समिति, उप समितिका सदस्यहरुको उपस्थिती रहेको थियो ।

कार्यक्षेत्र भित्र रहेका संस्थाका विपन्न सेयर सदस्यका छोराछोरीलाई पोशाक, झोला, जुत्ता, मोजा, कपि, कलम, ज्यामिट्री बक्स, क्यालकुलेटर, रजिष्ट्रर लगायतका सामग्री प्रदान गरिएको संस्थाका क्षेत्रिय प्रमुख पूर्णप्रसाद सापकोटाले जानकारी दिनुभयो । जिल्लाका २५ वटा सामुदायिक विद्यालयका ४० जना विद्यार्थीलाई १ वर्षभरि लाग्ने विद्यालय शुल्क सहितको सो सामग्री प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार १ देखी ४ कक्षा सम्मका ११ जना, ५ देखी ७ कक्षा सम्मका १९ जना र ८ देखी १० कक्षा सम्मका १० जना गरि ४० जनालाई छात्रवृति प्रदान गरिएको हो ।

२०४८ सालमा २६ जना सदस्यले १३ रुपैंयाको पुँजीबाट शुरु गरेको विकू सहकारीमा हाल ४ अर्बको पुँजी रहेको छ भने ५५ हजार सेयर सदस्य रहेका छन् । ४ पटकसम्म एक्सेस ब्रान्ड प्राप्त गर्न सफल सहकारीले जिल्लामा १२ वटा सेवा केन्द्रमार्फत अत्याधुनिक प्रविधिको प्रयोग गर्दै वित्तिय तथा गैरवित्तिय सेवा प्रदान गर्दै आईरहेको छ ।

SHARE