पुस, काठमाडौं । एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको लिग चरणको अन्तिम खेलमा साविक विजेता विराटनगर वारियर्सलाई पाँच विकेटले पराजित गर्दै काठमाडौं किंग्स इलाभेन क्वालिफायर राउण्डमा प्रवेश गरेको छ ।

यता, विराटनगरभने काठमाडौंसँग पराजित भएसँगै चितवनसँग नेट रनरेटमा पछि पर्दै प्रतियोगिताबाट बाहिरिएको छ । यता, चितवनको भने भाग्यमानी बनेको छ । विराटनगरलाई नेट रनरेटमा पछि पार्दै चितवन पनि प्लेअफमा पुग्न सफल भएको हो । चिवनको नेट रनरेट –०.१८५ हुदा विराटनगरको –०.२५ रहेको हो ।

१०१ रनको सामान्य लक्ष्य पछ्याएको काठमाडौंले १७.५ ओभरमा पाँच विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । काठमाडौंका लागि केभिन ओब्रिइन अविजित ४५ र प्रदीप साहुले अविजित २१ रन बनाए । बलिङतर्फ कप्तान पारस खड्का र रोइलोफ भान डेर मेर्वेले समान २–२ विकेट लिए पनि जित दिलाउन सकेनन ।

टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १७.५ ओभरमा सबै विकेटको क्षतिमा १०० रन मात्रै बनाउन सक्यो । विराटनगरका लागि सुमित महर्जनले २५, हरिबहादुर चौहानले २२ र कप्तान पारस खड्काले २१ रन बनाएका थिए । विराटनगरलाई सस्तैमा समेट्ने क्रममा काठमाडौंका केभिनले तीन विकेट लिए ।

लिग चरणको खेल सकिदा लिगको शीर्ष स्थानमा ललितपुर प्याट्रिएटस र दोस्रो स्थानमा काठमाडौं रहंदै क्वालिफायर राउण्डमा प्रवेश गरेका छन् । फाइनल प्रवेशका लागि यी दुई टिमले प्रतिस्पर्धा गर्नेछन् ।

यो राउण्ड जित्ने टिम फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले इलिमिनेटर राउण्डको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । इलिमिनेटरमा भने भैरहवा ग्लाटिएटर्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुने भएको हो ।

प्रतियोगिताको विजेताले २५ लाख नगदसहित ट्रफि प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले १० लाख नगद प्राप्त गर्नेछ । त्यस्तै, प्लेयर अफ द सिरिज हुने खेलाडीले टीभीएस आपाची बाइक पाउने छन् ।

SHARE