गैँडाकोट, श्रावण । पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा केवलकार निर्माण हुने भएको छ । गैँडाकोट वाड नं. १  मौलाकालिका फेदीमा मौलाकालि केबलकार प्रालीले किनेको १२ कठ्ठा क्षेत्रमा आधार स्टेशन तथा मौलाकालिका मन्दिर तल रहेको हेली प्याड रहेको स्थानमा टप स्टेशन रहने भएको छ । प्रस्तावित मौलाकालिका केबलकार आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम शनिबार मन्दिर परिसरमा भएको छ । सोही कार्यक्रममा सरकारी तवरबाट पास हुनुपर्ने कागजातको पक्रिया चाँडै भए एक वर्ष भित्रै निर्माण कार्य सुरु हुने मौलाकालि केबलकार प्रालीका अध्यक्ष चन्द्र ढकालले बताउनुभएको छ ।

 

ढकालले केवलकार निर्माणको कार्य हुँदा होस् या दीर्घकालिन समयमा मन्दिरको मौलिकपना, स्थानीय क्षेत्रको अहित हुने हिसाबले कुनै पनि कार्य नगरिने र त्यसमा सचेत रहेको बताउनुभएको छ । ढकालका अनुसार निर्माण कार्यमा मौलाकालिका केबलकार प्रालीको ५१ प्रतिशत र स्थानीयको ४९ प्रतिशत भूमिका रहने बताउनुभयो ।

गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले नगरभित्र रहेका ३६ वटा धार्मिक संघसंस्थालाई समेटेर अघि बढ्न लागेको नगरपालिकाको योजनामा यस कार्यले ठूला सहयोग पुग्ने बताउनुभएको छ । धार्मिक पर्यटकीय नगर विकासको योजनामा यस आयोजनाले सहयोग पुग्ने नगरप्रमुख पौडेलको भनाई छ  ।

धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाले १० प्रतिशत व्यक्तिले पर्यावरणको कुरा उठाएर असन्तोष प्रकट गरेपनि ९० प्रतिशत मानिसले केबलकार निर्माणका पक्षमा विकास र वातावरण सन्तुलन नविग्रने गरी अघि बढ्नुपर्ने सुझाव पाएको बताउनभयो ।

मौलाकालिका मन्दिरका प्रमुख सल्लाहकार ज्ञानेन्द्र विक्रम महतले मन्दिरको मौलिक संरचनामा कुनै परिवर्तन नहुने गरी काम अघि बढ्ने बताउनुभयो । महतले यस आयोजनाले गैँडाकोटबासीको मुहार फेरीने दाबी गर्नुभयो ।
मौलाकालि सामुदायिक वनका अध्यक्ष काशिनाथ कंडेलले वन ऐन नियमसंग नबाझिने गरी आयोजना गर्न सुझाब दिनुभयो । हाल प्रवेशद्धारमा रहेका संरचानहरुको अस्तित्व नमार्न गरी काम गर्नुपर्ने बताउनुभयो ।

देवघाट क्षेत्र विकास समितिका अध्यक्ष टंकनाथ पौडेलले अहिले नै वार्षिक ५÷७ लाख पर्यटकहरु देवघाटधाममा आइरहेको अवस्थामा गैँडाकोटबाट मौलाकालिका र मौलाकालिकाबाट देवघाट जोड्न सके र वेणि संगममा त्रिकोणात्मक पूल बनेपछि वर्षेनी २० लाख पर्यटक बढ्ने बताउनुभयो ।

वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि सुनिल निरौलाले टप स्टेशन तथा बेस स्टेशन राख्ने स्थानको माटोको अवस्था र त्यसले थाम्न सक्ने भार क्षमताका सन्दर्भमा सचेत हुन सुझाब दिनुभयो । फौहोर मैलाका प्रकृति छुट्याएर प्लाष्टिक लाई निषेधित गर्न सुझाब दिनुभयो ।

 

SHARE