सगुन पोष्ट/१६ चैत, काठमाडौं । नेपाल आयल निगमले इन्धन भण्डारणका लागि चलनचल्तीभन्दा चार गुण बढी मूल्य हालेर खरिद गरेको जग्गामा राजस्वसमेत छली गरेको भेटिएको छ ।

झापा, सर्लाही, चितवन र भैरहवाको जग्गा निगमलाई बिक्री गर्दा व्यवसायीले ४९ करोड ५० लाख रुपैयाँ राजस्व छली गरेको भेटिएको हो ।

निगमले डेड वर्षअघि २ अर्ब ३३ करोड ४० लाख ७५ हजार ५ सय ८४ रुपैयाँमा विभिन्न ठाउँमा ९४ बिघा १७ कट्ठा जग्गा खरिद गरेको थियो । त्यसमध्ये निगमले १ अर्ब ९८ करोड ३५ लाख ८६ हजार ४ सय २७ रुपैयाँ भुक्तानी गरिसकेको छ ।
जग्गा खरिदमा निगम व्यवस्थापनले एक अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन करिब टुंग्याइसकेको छ ।

समाचार अनुसार झापामा साढे १४ करोड, सर्लाहीमा साढे ८ करोड, चितवनमा १५ र भैरहवामा ११ करोड राजस्व छली गरिएको छ । (नयाँ पत्रिका दैनिक) 

SHARE